मंगलवार , फाल्गुण १२, २०८२
भैरहवा, १२ फागुन । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले उम्मेदवारसँग छलफल कार्यक्रम गरेको छ । संस्थाले सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. लेखजंग थापासँग कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहभागी उद्योग व्यवसायीले डा. थापासँग विभिन्न जिज्ञासा राखेका छन् । चेम्बर अफ कमर्श, रुपन्देहीका कार्यसमिति सदस्य कृष्ण प्रसाद मरासिनीले भ्रष्टाचारविरुद्ध रास्वपाको स्पष्ट प्रतिबद्धता माग गर्नुभयो । उहाँले भन्नुभयो–‘भ्रष्टाचारविरुद्ध तपाईको स्पष्ट प्रतिवद्धता के हो ?’
त्यस्तै होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राजेश महोत्राले पर्यटन क्षेत्रको विकासका र पर्यटकको बसाई लम्ब्याउने योजना के छ भन्दै प्रश्न गर्नुभयो । संगठनका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराईले स्वास्थ्य क्षेत्रमा भएको बेथिति कसरी हटाउनुहुन्छ भन्दै प्रश्न गर्नुभयो । चेम्बर अफ कमर्श, रुपन्देहीका सल्लाहकार टीकाराम भट्टराईलाई रास्वपाको निजी विद्यालयप्रतिको धारणा के हो भन्दै प्रश्न गर्नुभयो ।
किराना तथा प्लाष्टिक व्यवसायी संघ भैरहवा, रुपन्देहीका उपाध्यक्ष कपिलदेव काफ्लेले स्वास्थ्य क्षेत्रमा भएको बेथिति हटाउनुपर्ने बताउनुभयो । उहाँले रास्वपाले सबै दललाई समेट्न सक्छ किन नाइ भन्दै प्रश्न गर्नुभयो । संघका सचिव झबिन्द्र बेलबासेले कतिपय सरकारी कार्यालयमा कर्मचारीको अभाव भएको, बिचौलिया बिना काम सहज रुपमा हुन नसक्ने स्थिति रहेकोले यसको समाधानका लागि ध्यान दिन आग्रह गर्नुभयो । ‘गरीब जनताले उपचार पाउन नसकी मृत्युवरण गर्नुपरेको समेत अवस्था छ, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था हुनुपर्छ । सीमा नजिक छ, ’उहाँले भन्नुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले राज्यले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक भएको बताउनुभयो । । ‘उद्योगी–व्यवसायी मर्कामा परेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन सकेको छैन, जसले अरबौं लगानी जोखिममा छ ।’‘उहाँले नीतिगत स्थायीत्व आवश्यक छ । उद्योगी–व्यवसाय सञ्चालन गर्दा झण्झटिलो छ । पर्यटनको सम्भावना भएको क्षेत्र पनि हो, पर्यटनको विकासका लागि ध्यान दिनुपर्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.लेखजंग थापाले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाइने बताउनुभयो । ‘ हामी नचाहदै नचाहदै भ्रष्टचारको चपेटामा परेका छौं । रास्वपा नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाउँछ, ’उहाँले भन्नुभयो ।
कतिपय समस्याको नीतिगत रुपमा समाधान गर्नुपर्ने उहाँको भनाइ छ । ‘कुनै पनि कुरा गहिराइमा नगइकन सत्य मान्नुहुँदैन । म बसेको ठाउँमा म होइन, सिस्टम चल्छ ।
सफा, स्वच्छ र निस्वार्थ राजनीतिले यो देशलाई नयाँ बाटोमा लिएर जाने उहाँको भनाइ छ ।
त्यस्तै प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार ज्ञानु पौड्यालले कतिपय नीतिगत त्रुटीले उद्योग व्यवसाय लगायतका क्षेत्रका समाधान हुन नसकेकोले नीति नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘विशेष गरी सिद्धार्थनगर नगरपालिकामा फोहोरमैला व्यवस्थापन आवश्यक छ । अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो ।
नागरिकका लागि निःशुल्क स्वास्थ्य, शिक्षामा आवश्यक रहेको बताउनुभयो । ‘विदेशिने नेपाली युवाहरुको संख्या बढ्दै गएको छ । ‘युवालाई स्वदेशमै रोक्न रोजगारी सिर्जना गर्नुपर्छ । उदार अर्थनीति र गौरवका योजना फास्ट ट्रयाकमा सम्पन्न गर्नुपर्छ । रास्वपाको सरकार आए भने काम गरेर देखाउँछौ, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठ, महासचिव लक्ष्मी अधिकारी लगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij