मंगलवार , फाल्गुण १२, २०८२
भैरहवा, १२ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँको नाम, फोटो र व्यक्तिगत विवरण दुरुपयोग गरेर नक्कली फेसबुक आईडीबाट ग्रुप सञ्चालन गरी सर्वसाधारणबाट पैसा माग्ने ठगीको प्रयास भइरहेको खुलेको छ ।
यो घटनाले सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगीको जोखिमलाई फेरि एकपटक उजागर गरेको छ । नगरप्रमुख खाँले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै आफ्नो नाममा बनाइएको फेक आईडीबाट ग्रुप खोलेर विभिन्न व्यक्तिहरूसँग आर्थिक सहयोग वा पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त उल्लेख गर्नुभएको छ । उहाँले उक्त ग्रुप र आईडीसँग आफ्नो कुनै पनि सम्बन्ध नरहेको उल्लेख गर्दै फेक आईडीबाट आएका कुनै पनि सन्देश वा अनुरोधमा विश्वास नगर्न आग्रह गर्नुभएको छ ।
उक्त ग्रुपमा नजोडिन र कुनै प्रतिक्रिया, कुनै पनि प्रकारको आर्थिक सहयोग वा पैसा नदिन समेत समेत उहाँको आग्रह छ ।
पछिल्लो समय सार्वजनिक व्यक्तित्वको नाम दुरुपयोग गरी फेसबुक, मेसेञ्जर लगायतका सामाजिक सञ्जालमा ठगीका घटना बढिरहेका छन् । यस्ता फेक आईडीहरूले व्यक्तिको फोटो, नाम र पुराना पोस्टहरू प्रयोग गरेर विश्वसनीय देखाउने प्रयास गर्छन् । अनलाईनमा कसैसँग पैसा माग्ने वा बैंक विवरण माग्ने सन्देश आएमा सिधै रिपोर्ट गर्नु र व्यक्तिगत जानकारी वा आर्थिक कारोबार सावधानीपूर्वक गर्नु आवश्यक छ । यस्ता घटनाको जानकारी प्रहरीको साईबर ब्यूरो वा नजिकैको प्रहरी कार्यालयमा दिन सकिन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij