२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

‘डा.लेखजंग थापाले अघि सारेका योजनाले आशावादी बनाएको छ’

मंगलवार , फाल्गुण १२, २०८२

  • 535
    Shares
  • 535
    Shares
  • भैरहवा, १२ फागुन । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटक विकासको परम्परागत शैली कि आधुनिक रूपान्तरण भन्ने बहसले उचाइ लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. लेखजंग थापाले अघि सारेका योजना र उहाँको निरन्तरको घरदैलोले यो बहसलाई थप तार्किक र आशावादी बनाएको स्थानीय बताउँछन् ।

    फागुन ४ गतेदेखि सुरु भएको डा. थापाको चुनावी अभियान मंगलबार मायादेवी गाउँपालिका वडा नम्बर ८ तथा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ र १५ मा पुगेको छ । यससँगै क्षेत्रका कुल ३६ वडाहरूमध्ये २९ वटा वडामा उहाँले आफ्नो चुनावी एजेण्डा पुर्याइसक्नुभएको छ । आफू केवल मत माग्न बस्ती नपसेको र यस क्षेत्रको भूगोल, सम्भावना र समस्याको नालीबेली बोकेर एउटा स्पष्ट ‘ब्लूप्रिन्ट’ का साथ मतदाताको आँगनमा उभिएको उहाँ बताउनुहुन्छ ।

    विमानस्थल र पूर्वाधार : समृद्धिको मुख्य कमाण्ड

    डा. थापाको योजनाको केन्द्रबिन्दुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । ‘विमानस्थल छ तर जहाज छैन’ भन्ने स्थानीयको गुनासोलाई चिर्न उहाँले यसलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गर्ने योजना थापाले अघि सार्नुभएको छ । यो योजना सफल हुँदा रुपन्देही–३ देशकै एउटा प्रमुख व्यापारिक र पर्यटकीय हब बन्ने उहाँको दाबी छ ।

    स्वास्थ्य र शिक्षामा नयाँ मानक

    शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा स्थापित गर्न डा. थापा दृढ देखिनुहुन्छ । हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र र प्रभावकारी स्वास्थ्य बीमाको ग्यारेण्टी गर्ने उहाँको वाचाले न्यून आय भएका नागरिकमा आशा जगाएको छ । सरकारी विद्यालयको साख फर्काउन उहाँले अघि सार्नुभएको ‘नमुना विद्यालय’ को अवधारणा र विपन्न बालबालिकाको पहुँच विस्तारले शिक्षा क्षेत्रमा व्याप्त विभेद अन्त्य गर्ने लक्ष्य राखेको छ ।

    कृषि र वातावरण : ‘एक वडा एक उत्पादन’

    कृषिप्रधान क्षेत्र भएकाले उहाँले ‘एक वडा एक उत्पादन’ को नीति ल्याउनुभएको छ । शीत भण्डारको निर्माण, मल र बीउबिजनको वैज्ञानिक वितरण र आधुनिक सिंचाई प्रणालीमार्फत किसानलाई आत्मनिर्भर बनाउने उहाँको सोच छ । त्यस्तै, ‘फोहोरबाट मोहर’ निकाल्ने वातावरणमैत्री सहरको परिकल्पना र सिद्धार्थ क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रूपमा स्तरोन्नति गर्ने योजनाले युवा पुस्तालाई निकै उत्साहित बनाएको छ ।

    सुशासन र रोजगारीको ग्यारेण्टी

    विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्ण क्षमतामा चलाएर स्थानीयस्तरमै ‘पूर्ण रोजगारी’ सिर्जना गर्ने र युवा पलायन रोक्ने उनको नीतिगत सुधारको योजना छ । भ्रष्टाचार र सरकारी ढिलासुस्तीप्रति ‘शून्य सहनशीलता’ अपनाउँदै ‘लाइन होइन, अनलाइन’ बाट सेवा दिने रास्वपाको केन्द्रीय एजेण्डालाई उहाँले स्थानीय तहसम्मै कार्यान्वयन गर्ने अठोट व्यक्त गर्नुभएको छ।

    बाँकी रहेका वडाहरूमा पनि आफ्नो भिजन पुर्याउने लक्ष्यका साथ अघि बढ्नुभएका डा. थापाले कोरेको यो मार्गचित्रले आगामी एक दशकभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्याउने राष्ट्रिय लक्ष्यमा रुपन्देही–३ लाई मुख्य आधारस्तम्भका रूपमा उभ्याएको छ ।