मंगलवार , फाल्गुण १२, २०८२
बुटवल, १२ फागुन । रुपन्देही क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले घरदैलोमा मतदाताको स्नेह र मायाले जित पक्का रहेको दाबी गर्नुभएको छ ।
मंगलबार बुटवलका तीनवटा वडामा घरदैलो, भेटघाटका क्रममा मतदाताहरुको उल्लेख्य सहभागिताले उम्मेदवारलाई हौसला र उत्साह थपिएको हो । पौडेलले मंगलबार बुटवल उपमहानगरपालिका वडा न ४, ५ र ६ मा सयौँंको उपस्थितिमा घरदैलो अभियान भएको हो ।
घरदैलोमा पहिरो र सुकुम्बासी समस्यामा समाधान गरिदिन मतदाताले आग्रह गरेका थिए । उम्मेदवार पौडेलले मतदाताको गुनासाहरु सम्बोधनको प्रतिबद्धता जनाउनु भयो । मतदाताको घरदैलो कार्यक्रममा रहनु भएका प्रत्यक्ष तर्फका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल सहित समानुपातिक उम्मेदवार रिता सेन ओली मतदाताको समस्या सुन्नेदेखि ज्येष्ठ नागरिकको आशीर्वाद थाप्नमा व्यस्त हुनुभएको छ । दुवैजना उम्मेदवारले घरदैलो अभियानको आठौं दिन बुटवलका विभिन्न वडामा सक्रिय सहभागिता जनाउनु भएको थियो ।
बिहान बुटवल उपमहानगरपालिका–४ को लक्ष्मीनगर गेटबाट सुरु भएको अभियान लक्ष्मीनगर, आदर्शनगर, राममन्दिर लाइन हुँदै अमरपथ क्षेत्रसम्म पुगेको थियो । स्थानीय मतदाताले विशेषगरी वर्षायाममा देखिने पहिरोको जोखिम, अव्यवस्थित बस्ती, सुकुम्बासी व्यवस्थापन, सडक र ढल निकासका समस्या समाधानका लागि आवाज उठाउन माग गर्नुभएको थियो ।
उम्मेदवार पौडेलले मतदातासँग भन्नुभयो– ‘हामी चुनाव जित्न मात्र होइन, दीर्घकालीन रुपमा समस्या समाधानका लागि आएका हौं ।’ पहिरो नियन्त्रण, सुरक्षित बस्ती निर्माण र सुकुम्बासी समस्याको कानुनी समाधानका लागि संघीय तहबाट पहल गर्ने प्रतिवद्वता समेत जनाउनु भयो । ‘बुटवललाई व्यवस्थित, सुरक्षित र अवसरयुक्त सहर बनाउन स्पष्ट योजना लिएर अघि बढेका छौ ।’ उहाँले भन्नुभयो त्यसका लागि रुख चिन्हमा मतदान गरेर बिजयी बनाउनु पर्ने छ ।
त्यसैगरी समानुपातिक उम्मेदवार ओलिले पनि मतदातासँग महिला, श्रमिक, दलित र विपन्न समुदायका मुद्दा अझै पनि ओझेलमा रहेकाले संसदमा पुगेपछि यी वर्गको आवाज मजबुत रूपमा उठाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
पहिलो पटक चुनावी मैदानमा आउनु भएका उद्योगपति शर्मासंग यस क्षेत्रका मतदाता मात्रै नभएर आम नागरिक उत्साहित छन् भने उद्योगी तथा व्यवसायीलाई आफ्नै उम्मेद्वार पाएकोमा आफू नै उम्मेदवार भएको जस्तै खुसी देखिएका छन् । उम्मेदवार शर्माले बुटवललाई आर्थिक केन्द्रसहित आईटी हवको रुपमा विकास गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठानको रुपमा विकास गर्ने र आम्दा अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने योजना रहेको बताउनु भयो ।
त्यसैगरी तिलोत्तमा, सैनामैनालाई आधुनिक सहरको रुपमा विकास गर्ने, मोतिपुर सहितका ग्रामिण क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा अघि बढाउने योजना रहेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij