बुधवार , फाल्गुण १३, २०८२
भैरहवा, १३ फागुन । १२१ औं अन्तर्राष्ट्रिय रोटरी दिवसको उपलक्ष्यमा रोटरी क्लब अफ भैरहवाले सिद्धार्थनगर नगरपालिका–२ स्थित बहिरा बाल माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष कमल कोइरालाको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको प्रमुख आतिथ्यता, एसिस्टेन्ट गभर्नर जितेन्द्रनाथ शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगितामा विद्यालयका आधारभूत तहमा अध्ययनरत ३० जना विद्यार्थीहरुको सहभागीता थियो । प्रतियोगितामा दस्तगीर अलि प्रथम, दिवस खनाल द्वितीय, वृजराज कुर्मी तृतीय र समिर रहमान भाटले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । विजेता विद्यार्थीहरुलाई क्लबको तर्फबाट नगद, ट्रफीसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रीवास्तवले भिन्न क्षमता भएका विद्यार्थीहरुकाबीच रोटरी क्लबले उनीहरुको प्रतिभा उजागर गर्न चित्रकला जस्तो महत्वपूर्ण कार्य गरेकोमा क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आगामी दिनमा पनि फरक क्षमता भएका विद्यार्थीहरुको क्षमता पहिचान गरी हौसला दिन सकेमा उनीहरुको जीवन सफल हुने बताउनुभयो । क्लबका ए.जी. जितेन्द्रनाथ शर्माले रोटरी क्लब सामाजिक संस्था भएकोले समाजका विभिन्न वर्गका व्यक्तिलाई यथासक्य सहयोग गर्ने बनाउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेले रोटरी क्लब अफ भैरहवाले बहिरा बाल मा.वि.लाई चित्रकला प्रतियोगिताका लागि छनौट गरी विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग गरेको भन्दै क्लबलाई धन्यवाद दिनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापाले पनि शुभकामना राख्नुभएको थियो ।
क्लबका पूर्वअध्यक्ष उमेशचन्द्र आचार्यको स्वागत तथा सचिव सुमन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यार्थी र सञ्चालकबीचको दोभाषेको जिम्मेवारी शिक्षिका मिरा बस्नेतले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij