२०८३, भाद्र १६ गते

Sep 01 2026 | २०८३, भाद्र १६ गते

रूपन्देही–३ लाई समृद्ध र नमूना क्षेत्र बनाउने बासुदेव घिमिरेको संकल्प

बुधवार , फाल्गुण १३, २०८२

  • 973
    Shares
  • 973
    Shares
  • भैरहवा, १३ फागुन । नेकपा (एमाले) को तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदा रुपन्देहीमा धेरै अवसरहरु सिर्जना हुने बताउनुभएको छ ।

    भैरहवामा आयोजित उम्मेदवारसँग पत्रकार कार्यक्रममा घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा दिगो रूपमा सञ्चालनमा ल्याउन नीतिगत प्रबन्ध गर्ने आफ्नो महत्वपूर्ण चुनावी एजेण्डा रहेको बताउनुभयो । 

    रणनीतिक र महत्वपूर्ण सडकहरूको स्तरोन्नति, सामूदायिक विद्यालय तथा क्याम्पसहरूको भौतिक तथा शैक्षिक गुणस्तर सुधार, सरकारी स्वास्थ्य संस्थाको प्रभावकारितामा वृद्धि, भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्याको दिगो समाधान, समाजमा पछि परेको वर्ग समुदायको उत्थान तथा मूल प्रवाहीकरणलाई आफूले चुनावी एजेण्डा बनाएको उहाँको भनाइ छ ।

    त्यस्तै किसानलाई समयमै मलखाद, बिउबिजन र प्राविधिक परामर्श तथा सिँचाई सुविधासहित सन्तुलित र समन्यायिक विकासलाई प्राथमिकताका राखेको बताउँदै उम्मेदवार घिमिरेले यी सबै कामका लागि जनमैत्री कानून निर्माणका लागि आफू सधैं प्रयत्नशील रहने बताउनुभयो । आफू भ्रष्टाचारमुक्त, पारदर्शी प्रशासन र राजनीतिको पक्षधर रहेको स्पष्ट पार्दै नेता घिमिरेले स्थानीय तहमा स्थापित गरेको कार्यक्षमतालाई मुलुकको नीति निर्माण गर्ने थलोमा पुर्याएर रूपन्देही क्षेत्र नम्बर ३ लाई देशकै समृद्ध र नमूना क्षेत्र बनाउन आफू दृढ संकल्पित रहेको उहाँको भनाइ छ ।

    आफूलाई संघ, प्रदेश र स्थानीय सरकारबीच कसरी सहकार्य र समन्वयमा काम गर्न सकिन्छ भन्ने कुराको जानकारी रहेको उल्लेख गर्दै नेता घिमिरेले विकास भाषणले होइन, प्रणालीले हुने र आफू त्यही प्रणाली निर्माणमा केन्द्रीत हुने बताउनुभयो ।