बिहिवार , फाल्गुण १४, २०८२
बुटवल, १४ फागुन । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ ले बुधवार सैनामैना नगरपालिकाका विभिन्न वस्तीमा घरदैलो गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार पाण्डेसहितका नेता–कार्यकर्ताले सैनामैनाको वडा नम्बर ३ र ४ का विभिन्न टोल र वस्तीमा घरदैलो गर्दै मत माग्नुभएको हो ।
उम्मेदवार विश्वदीपसहित नेता–कार्यकर्ताले बुधवार सैनामैना–३ का पाँचकुने चोक, सुनगाभा टोल, गंगानगर टोल, दरखासी टोल र रामवस्ती टोलमा घरदैलो गर्नुभएको हो । त्यस्तै वडा नम्बर ४ का अस्लेवा डाँडा, रन्यौरा टोल, प्रगतिटोल, झारगैरा, लहरेपीपल टोल, लखनपाडा, कुस्मा, लुम्बिनीरोड लगायतका वस्तीमा पुगेर भोट माग्नुभएको हो ।
उम्मेदवारसहित मतदाता भेटघाट गरेका नेकपाका कार्यकर्ताले झण्डा, माईक, व्यानर र प्रतिवद्धतापत्रसहित घर–घर र टोल–टोलमा पुगेर आफ्ना चुनावी एजेण्डा प्रस्तुत गर्नुभएको थियो ।
मतदातासँगको भेटघाटमा उम्मेदवार पाण्डेले जनपक्षीय काम गर्न आफूले उम्मेदवारी दिएकाले मतदान गरेर सहयोग गर्न मतदाता समक्ष अनुरोध गर्नुभएको थियो ।
उहाँले कुन उम्मेदवार एजेण्डाबिहीन छ र कुन दलसँग जनपक्षीय एजेण्डा छन् भन्ने चिनेर अमूल्य मत प्रयोग गनुपर्ने आवश्यकतामा जोड दिनुभयो । साथै उहाँले स्थानीय समस्या समाधानको लागि आफू हरदम लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निर्वाचन परिचालन समितिका संयोजक नारायण जीसी ‘निर्मल’ का अनुसार निर्वाचन आचारसंहिताभित्र रहेर सैनामैनाका चारवटै वडामा उम्मेदवारसहित घरदैलो गरिएको छ । संयोजक जीसीले प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको बताए । भोली बिहीबार बुटवलको वडा नम्बर ११ मा उम्मेदवारसहित घरदैलो गरिने नेकपाले जनाएको छ ।
रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नम्बरसम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बरसम्मका वडा पर्छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij