बिहिवार , फाल्गुण १४, २०८२
बुटवल, १४ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णुप्रसाद पौडेलले बुधबार बुटवलका दुई वडामा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ मा दिउँसोदेखि सुरु भएको घरदैलोमा स्थानीयवासीको उत्साहजनक सहभागीता देखिएको एमालेले जनाएको छ ।
घर–घर पुगेर मत माग्दै पौडेलले विगतमा सम्पन्न गरिएका विकास निर्माणका कामहरू स्मरण गराउँदै बाँकी योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, ढल निकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
वडा नम्बर ७ का स्थानीय रामप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा पौडेलले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिएको बताउँदै आगामी दिनमा पनि निरन्तरता आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै स्थानीय मतदाता गीता आचार्यले महिला उद्यमशीलता र युवालाई सीपमूलक तालिम विस्तारमा पहल गरिदिन आग्रह गर्नुभयो । त्यसको जवाफमा पौडेलले महिलामैत्री कार्यक्रम र स्वरोजगार केन्द्रित योजनालाई अझ सशक्त बनाउने आश्वासन दिनुभयो । त्यसै गरी बिहान बुटवल वडा नम्बर ८ मा पनि उहाँले घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ । यहाँका मतदातासँग भेटघाट गर्दै उहाँले बुटवललाई व्यवस्थित, आधुनिक र आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । विशेष गरी शिक्षा, स्वास्थ्य र साना व्यवसाय प्रवद्र्धनमा थप लगानी गर्ने योजना पौडेलले सुनाउनुभयो ।
वडा नम्बर ८ का सुरेन्द्र थापाले पौडेलको अनुभव र पहुँचले यस क्षेत्रको विकासमा फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अर्की स्थानीय माया रानाले बाढी नियन्त्रण र वातावरण संरक्षणमा दीर्घकालीन योजना ल्याउन आग्रह गर्नुभयो । जवाफमा पौडेलले तिनाउ–दानव करिडोर व्यवस्थापन, हरित पूर्वाधार र दिगो सहरी विकासका कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अधुरा आयोजनालाई छिटो सम्पन्न गर्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र शिक्षा–स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राख्ने बताउनुभयो । ‘विकासको आधार तयार भइसकेको छ, अब त्यसलाई परिणाममा रूपान्तरण गर्न स्थिर नेतृत्व आवश्यक छ,’ उहाँले भन्नुभयो ।
दुवै वडामा भएको घरदैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, स्थायीत्व र समृद्धिलाई मुख्य एजेण्डा बनाएको सन्देश पौडेलले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij