२०८२, फाल्गुण १४ गते

Feb 26 2026 | २०८२, फाल्गुण १४ गते

रूपन्देही २ मा कांग्रेसको घरदैलो : चुनाव जित्नेमा उम्मेदवार पौडेल विश्वस्त

बिहिवार , फाल्गुण १४, २०८२

  • 139
    Shares
  • 139
    Shares
  • बुटवल । नेपाली कांग्रेस रूपन्देही–२ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुग्दा उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेलले चुनाव जित्नेमा विश्वस्त भएको बताउनु भएको छ । 

    घरदैलो कार्यक्रमको ९ औं दिन बुटवल उपमहानगरपालिका वडा नं १२ र वडा नं २ को घरदैलोका क्रममा प्रतिक्रिया दिदै कांग्रेस उम्मेदवार पौडेलले घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताहरूको सक्रिय सहभागीता र मतदाताहरूले देखाएको सद्भावले चुनाव जितिनेमा आफू विश्वस्त भएको बताउनु भएको हो ।  

    पौडेलले बिहिबार बिहान बुटवल उपमहानगरपालिका–१२ मा सघन घरदैलो अभियान सञ्चालन गर्नुभएको थियो । बिहान ७ बजेदेखि १२ बजेसम्म नयाँगाउँ, तामनगर, ढवाह लगायतका क्षेत्रमा घरदैलो गर्दै उहाँले स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको हो । 

    घरदैलोका क्रममा स्थानीय बासिन्दाले आफ्ना टोलका दीर्घकालीन समस्या खुलेर राखेका थिए । विशेषगरी ढल निकासको अव्यवस्था, टोल सुधार कार्यक्रम प्रभावकारी नहुनु, सडक स्तरोन्नति ढिलो हुनु, सरसफाइ व्यवस्थापन कमजोर हुनुजस्ता विषयमा गुनासा आएका थिए । 

    यसैबीच, भूमिहीन र सुकुम्बासीले जग्गा व्यवस्थापन र स्थायी समाधानको विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । उम्मेदवार पौडेलले भुमिहीन समस्यालाई कानुनी र व्यवहारिक ढंगले कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा गंम्भीर चासो देखाउँदै यसलाई नीति तथा कार्यक्रममै समेट्ने प्रतिबद्धता पौडेलले गर्नुभयो । उहाँले स्थानीयका गुनासा टिपोट गर्दै विकास निर्माणका अधुरा कामलाई सम्पन्न गर्ने, टोलस्तरमै योजना छनोट गर्ने र व्यवस्थित शहरी विकासको स्पष्ट खाका अघि सार्ने बताउनु भयो । 

    c paudel.jpeg

    त्यसैगरी, दिउँसो १ बजेदेखि बुटवल–२ मा घरदैलो अभियान सञ्चालन गरिएको थियो । पारी बुटवल, फूलबारी, मैनाबगर, पाखापानी लगायतका क्षेत्रमा मतदातासँग भेटघाट गर्दै उहाँले ऐतिहासिक बुटवलको पहिचान जोगाउँदै योजनाबद्ध विकास गर्ने प्रतिबद्धता दोहोराउनु भयो । पुरानो बटौली क्षेत्रको ऐतिहासिक महत्वलाई संरक्षण गर्दै पुरानो बजारलाई थप व्यवस्थित, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक बनाउने योजना अघि सारिएको छ । 

    अव्यवस्थित संरचना व्यवस्थापन, पार्किङ समस्या समाधान, ढल तथा फोहोर व्यवस्थापन सुधार र साना व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिने बताइएको छ । घरदैलो अभियानका क्रममा स्थानीयले रोजगारी सिर्जना, बजार व्यवस्थापन र आधारभूत पूर्वाधार सुधारमा ठोस कामको अपेक्षा राखेका थिए । उम्मेदवार पौडेलले “विकास कागजमा होइन, व्यवहारमा देखिनुपर्छ” भन्दै परिणाममुखी कार्यशैली अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।