शुक्रवार , फाल्गुण १५, २०८२
काठमाडौं, १५ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको एउटा राष्ट्रिय नमूना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफूलाई समर्थन गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । शुक्रवार बिहान पत्रकार सम्मेलन गर्दै केसीले शर्मालाई समर्थन गरेको घोषणा गर्नुभयो । रुकुमको समग्र विकासमा टेवा पु¥याउन समर्थन गरेको उहाँको दाबी छ । एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ ।
प्रलोपाका शर्मा, नेपाली काँग्रेसका राजु केसी, नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही निर्वाचनको मैदानमा हुनुहुन्छ । नेता शर्माले जिल्लाको सर्वाङ्गीण विकासका लागि आफू स्पष्ट खाकासहित निर्वाचनमा होमिएको बताउनु भयो । आफ्नो चुनावी एजेण्डाबारे प्रष्ट पार्दै शर्माले रुकुम पश्चिमलाई गरिबी र बेरोजगारीबाट मुक्त गराउने संकल्प दोहो¥याउनु भयो । उहाँले आम मतदाताहरूलाई सम्बोधन गर्दै विकास र समृद्धिको पक्षमा उभिन आग्रह गर्नुभयो ।
निर्वाचनको सरगर्मी बढिरहँदा नेता शर्माले आफूलाई कुनै एउटा दल विशेषको मात्र नभई सम्पूर्ण रुकुमेलीहरूको ‘साझा उम्मेदवार’ भएको बताउनु भयो । विगतमा सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर परिणाममुखी काम गरेको दाबी गर्नुभयो ।
नेता शर्माले रुकुम पश्चिमको रूपान्तरणका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको जिकिर गर्दै मतदाताहरूलाई विकासको पक्षमा एकजुट हुन आग्रह गर्नुभयो । रुकुमलाई आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा न्यायपूर्ण बनाउने आफ्नो एजेण्डा नै जितको मुख्य आधार रहेको उहाँको ठहर छ ।
उहाँले भन्नुभयो, ‘मैले रुकुमलाई देशकै एउटा मोडल जिल्ला बनाउने दृष्टिकोण राखेको छु । हाम्रो लडाइँ गरिबी र बेरोजगारी विरुद्ध हो । सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै रुकुमको भविष्य उज्ज्वल बनाउनु नै मेरो मुख्य लक्ष्य हो ।
रुकुमको विकास र सामाजिक न्यायलाई जिताउनका लागि आगामी निर्वाचनमा ‘आँखा’ चिन्हमा मतदान गर्न म सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक आह्वान गर्दछु ।’
यता, उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गर्नुभयो ।
केसीले मतदाताहरुको सुझाव र रुकुमको वृहत्तर हितका लागि आफूले यो निर्णय लिएको बताउनु भयो । केसीले रुकुमलाई समृद्ध बनाउने एजेण्डाहरु कुनै व्यक्ति विशेषको नभई साझा भएको स्पष्ट पार्नुभयो । उहाँले अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरुलाई पनि शर्माको पक्षमा उभिन आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो,‘भोटरहरुले मेरो पार्टी र नेतृत्व ठिक भए पनि अहिलेको मतभारका कारण एजेण्डा कार्यान्वयन गर्न गाह्रो हुनसक्ने सुझाव दिनुभयो । उहाँहरुले एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न आग्रह गर्नुभयो । रुकुम पश्चिमको अहिलेका सबै उम्मेदवारहरुमा जनार्दन शर्मा सबैभन्दा बलियो, स्थापित र अनुभवी नेता हुनुहुन्छ । उहाँलाई साझा समर्थन गरेर सघाउनु नै अहिलेको आवश्यकता हो ।’
केसीले शर्मालाई ‘साझा नेतृत्व’ को रुपमा स्वीकार गर्दै रुकुमको विकासका लागि सबै शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij