शुक्रवार , फाल्गुण १५, २०८२
काठमाडौं, १५ फागुन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दुई पुराना दलहरु काँग्रेस–एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपा प्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्नुभएको छ ।
शुक्रवार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाोधन गर्दै संयोजक दाहालले यस्तो दाबी गर्नुभएको हो ।
अन्य पुराना राजनीतिक दलहरु रक्षात्मक अवस्थामा पुग्दा नेकपा मात्रै आक्रामक रुपमा अघि बढेको कारण जनताको विश्वास बढ्दै गएको उहाँको जिकिर छ ।
उहाँले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने जिकिर पनि गर्नुभयो । उहाँले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कम्युनिष्ट पार्टी मात्रै त्यस्तो पार्टी बनेको छ, जुन महाअभियानको रुपमा निर्वाचनमा अगाडि बढेको छ र उभारको रुपमा देखा परेको छ । अन्य पुराना पार्टीहरु रक्षत्मक छन् । हामी मात्रै आक्रामक ढंगले अगाडि बढेका छौँ । दिन प्रतिदिन नेपाली कम्युनिष्ट पार्टीप्रति यसले अगाडि सारेका, नीति, योजना र कार्यक्रमप्रति अनि हामीले गरेका प्रतिवद्धताहरुप्रति जनताको भरोसा र विश्वास बढ्दै गएको छ ।
अब आउने पाँच दिन हामीले युद्धस्तरमा खटेर जनतालाई घरघरमा गएर सम्झाउन सक्यौँ भने मैले भन्दै आएको छु नेकपाले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पहरेदारी गर्नसक्नेछ । यो मात्र एक नम्बर पार्टी हो जसले निर्वाचनपछि देशको नेतृत्व गर्नेछ ।’
उहाँले नेकपाले निर्वाचनमा कुनैपनि दलहरुसँग तालमेल नगर्ने पनि स्पष्ट पार्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij