२०८२, फाल्गुण २१ गते

Mar 05 2026 | २०८२, फाल्गुण २१ गते

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेण्टी गर्नुपर्छ : हिरा खत्री

सोमवार , फाल्गुण १८, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • बुटवल, १८ फागुन । रुपन्देही क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हिरा बहादुर खत्रीले वर्तमान अवस्थामा युवालाई रोजगारीको ग्यारेण्टी नै गर्नु रहेको बताउनुभएको छ । उहाँले स्वदेशमा रोजगारीको ग्यारेण्टी नहुँदा विदेशी मुलुकमा ठुलो युवा शक्तिले पसिना बगाउन बाध्य भएकाले अब स्वदेशमै रोजगारीको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । 

    देवदह र तिलोत्तमाका विभिन्न वडाहरुमा आइतबार घरदैलो तथा मतदातासँग सुझाव संकलन गर्ने क्रममा उहाँले इरान, इराक, खाडी मुलुकमा भएको पछिल्लो घटनाक्रमले धेरै नेपाली युवा बेरोजगारको चपेटामा पर्न सक्ने भन्दै अब मुलुकमै युवालाई रोजगारीको ग्यारेण्टी गर्ने सरकार चाहिएको बताउनुभयो । 

    युवालाई रोजगारीको व्यवस्था गर्ने र नवयुवाको चाहना पुरा गर्ने योजना कांग्रेससँग मात्र भएकाले अव युवाको ढुकढुकीका रुपमा कांग्रेसले काम गर्ने र सबैको साथी बन्ने बताउनुभयो । उहाँले गएको भदौमा भएको जेनजी (नवयुवा) आन्दोलनलाई सम्झदै फेरी पनि युवाको रगत बगाउने अवस्थाको अन्त्य गर्नका लागि नवयुवाका चाहना र सुशासनमैत्री सरकार, रोजगारीमैत्री नीति मुलुकमा चाहिएको बताउनुभयो । 

    उहाँले युवाहरुका धेरै समस्या भएको उल्लेख गर्दै मुलुकको सर्वसुलभ शिक्षा, स्वास्थ्य हुनु पर्ने धारणा राख्दै अव बन्ने सरकारले त्यो विषयलाई गम्भिरतापूर्वक लिने समेत बताउनुभयो । उहाँले कांग्रेस अहिले बदलिएर आएको बताउँलै बदलिएको कांग्रेसले आम नागरिकका चाहना र भावनालाई पनि सम्बोधन गर्दै मुलुकलाई विकासको दिशामा लाने बताउनुभयो । 

    काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले मुलुकलाई सही दिशामा डोर्याउने कांग्रेस मात्र भएकाले मुलुकको विकास र युवाका चाहनलाई पुरा गर्न कांग्रेसले मात्र सक्ने भएकाले पार्टीलाई मतदान गरेर बहुमतको सरकार बनाउन आग्रह गर्नुभयो । आइतबार दिउँसो तिलोत्तमाका विभिन्न वडाहरुमा भएको घरदैलो कार्यक्रममा कांग्रेसका जिल्ला सह–सचिव बासुदेव रिमाल, क्षेत्रीय सचिव विजय गुरुङलगायतका नेताहरुको सहभागीता रहेको प्रचार प्रसार सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।