२०८२, फाल्गुण २३ गते

Mar 07 2026 | २०८२, फाल्गुण २३ गते

रास्वपा रुपन्देही–३ का निवर्तमान सभापति पौडेलले दिए राजीनामा

शुक्रवार , फाल्गुण २२, २०८२

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर ३ का निवर्तमान क्षेत्रीय सभापति ओम पौडेलले पार्टीबाट राजीनामा दिनुभएको छ । उहाँले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य पनि नरहने गरी राजीनामा दिनुभएको हो ।

    Om Poudel.jpg

    हाल रास्वपा लुम्बिनी प्रदेश नव प्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख रहनुभएका पौडेलले भन्नुभयो–‘मेरो उद्देश्य पुराना राजनीतिक दलका गलत पात्रहरुले स्थापित गरेको संगठित ठगी धन्दा, राज्यका संयन्त्र कब्जा, सेटिङमै हुने तस्करी, संस्थागत भ्रष्टाचार र बेरोजगारी सँग–सँग वैदेशिक रोजगारीमा जानेहरूलाई पनि एयरपोर्टमै बेच्नेसम्मका अपराधिक संजालकाविरूद्ध रवि लामिछानेले देखाएको आँट र साहसमा आफ्नो ऐक्यबद्धता जनाउदै पार्टीमा जोडिएको थिएँ, जुन आजको मतदानसँगै आफ्नो कर्तव्य पुरा भएको ठानेको छु । ’

    हिजोका दिनमा पनि स्वतन्त्र अभियानका साथै हरेक नयाँ परिवर्तनकारी शक्तिहरुलाई बाहिरबाट नै आफूले सकेको सहयोग गर्दै आएको उहाँको भनाइ छ । ‘रास्वपा नै मेरो पहिलो राजनीतिक दल हो । जसको मैले सदस्याता नै लिएर अगाडि आएँ, किनकि त्यो बेलामा संगठन नै नभएको अवस्थामा बाहिर बस्नुभन्दा भित्रै बसि योगदान दिनु उचित ठाने, ’पौडेलले भन्नुभयो ।

    जसरी पनि परिवर्तन हुनुपर्छ भनेर राजनीतिमा लागेको अब आफ्नो जिम्मेवारी पूरा भएको ठानेको उहाँले बताउनुभयो ।‘ अब बाँकी जिम्मेवारी आफ्नो गाउँ, समाज र देश परिवर्तनको योजनासहितको आँट र साहस लिएर जोडिनु भएका नयाँ साथीहरुले गर्नु नै हुनेछ भन्ने आशा गर्दछु, ’उहाँले भन्नुभयो ।

    ‘राजनीति साँच्चिकै फोहोरी छ । हरेक राजनीतिक दलमा अवसरवाद हाबी छ् । रास्वपामै पनि दोहोरो चरित्र देखाउने र मात्र पदका लागि जे पनि गर्न सक्ने व्यक्ति देख्दा दुःख पनि लागेको छ, ’पौडेलले भन्नुभयो ।

    पार्टीप्रति माया सधै रहिरहने उहाँले बताउनुभयो । ‘हामीले एक–एक गरेर संगठन जोडेका हौं, त्यसैले म अरू कुनै पनि साथीहरूलाई जानकारी नै नगराइ एक्लै आफ्नै स्वविवेकले राजीनामा दिने निर्णय लिएँ, त्यसको लागि सबै सहयात्री साथीहरूसँग क्षमा चाहन्छु, ’उहाँले भन्नुभयो । पौडेलले पार्टीका लुम्बिनी प्रदेश महामन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र लेख्नुभएको छ ।

    राजीनामा पत्र

    मिति : २०८२–११–२२
    आदरणीय महामन्त्रीज्यू           
    राष्ट्रिय स्वतन्त्र पार्टी,
    लुम्बिनी प्रदेश, नेपाल        
                                      विषय : राजीनामा सम्बन्धमा ।
    म ओम पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ३ को निर्वतमान सभापति र हाल रास्वपा लुम्बिनी प्रदेश नव प्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख (सदस्यता नंं १८१६, मिति–२०७९–१२–१४) आजकै मितिदेखि रास्वपाको साधारण सदस्य पनि नरहने गरी राजीनामा पेश गर्दछु र यसलाई पार्टीले अन्यथा नलिइ सहजताका साथ स्विकार्ने कुरामा विश्वस्त छु ।

    मेरो उद्देश्य पुराना राजनीतिक दलका गलत पात्रहरुले स्थापित गरेको संगठित ठगी धन्दा, राज्यका संयन्त्र कब्जा, सेटिङमै हुने तस्करी, संस्थागत भ्रष्टाचार र बेरोजगारी सँग–सँगै वैदेशिक रोजगारीमा जानेहरूलाई पनि एयरपोर्टमै बेच्नेसम्मका अपराधिक संजालकाविरूद्ध रवि लामिछानेले देखाएको आँट र साहसमा आफ्नो ऐक्यबद्धता जनाउदै पार्टीमा जोडिएको थिएँ जुन आजको मतदानसँगै आफ्नो कर्तव्य पुरा भएको ठानेको छु ।

    म हिजोका दिनमा पनि स्वतन्त्र अभियानका साथै हरेक नयाँ परिवर्तनकारी शक्तिहरुलाई बाहिरबाट नै आफूले सकेको सहयोग गर्दै आएको थिएँ । रास्वपा नै मेरो पहिलो राजनीतिक दल हो । जसको मैले सदस्याता नै लिएर अगाडि आएँ किनकि त्यो बेलामा संगठन नै नभएको अवस्थामा बाहिर बस्नुभन्दा भित्रै बसी योगदान दिनु उचित ठाने । जसरी पनि परिवर्तन हुनुपर्छ भनेर राजनीतिमा लागेको मैले अब आफ्नो जिम्मेवारी पुरा भएको ठानेको छु । अब बाँकी जिम्मेवारी आफ्नो गाउँ, समाज र देश परिवर्तनको योजनासहितको आँट र साहस लिएर जोडिनुभएका नयाँ साथीहरुले गर्नु नै हुनेछ भन्ने आशा गर्दछु ।

    राजनीति साँच्चिकै फोहोरी छ । हरेक राजनीतिक दलमा अवसरवाद हाबी छ । रास्वपामै पनि दोहोरो चरित्र देखाउने र मात्र पदका लागि जे पनि गर्न सक्ने व्यक्तिहरु देख्दा दुःख पनि लागेको छ । म रहेको मेरो पार्टीप्रति मलाई माया सधै रहिरहने छ, किनकी हामीले एक–एक गरेर संगठन जोडेका हौं, त्यसैले म अरू कुनै पनि साथीहरूलाई जानकारी नै नगराइ एक्लै आफ्नै स्वविवेकले राजीनामा दिने निर्णय लिएँ, त्यसको लागि सबै सहयात्री साथीहरूसँग क्षमा चाहन्छु । 

    एउटा कुरा गर्वका साथ भन्न सक्छु, पार्टीमा लागेर केन्द्रदेखि वडासम्म धेरै साथी–भाईको माया कमाएको छु, त्यो मायाँ सधै मुटुको कुनै कुनामा सुरक्षित राखिरहनेछु । म यो पनि भन्न चाहन्छु, कि म पार्टीमा कुनै पद नपाएर या अरु कुनै पार्टीमा अवसर खोज्ने उद्देश्यले पार्टी छोडेको होइन, मात्र मलाई स्वतन्त्र नागरिक भइ बस्ने इच्छा हो, जुन मेरो संविधानले दिएको अधिकारभित्र पर्छ । मलाई स्वतन्त्रता मन पर्छ, जसले सही र गलत छुटाउन सकोस र यो तागत कुनै राजनीतिक दलको झण्डामुनी बसेर सकिदैन, मात्र देशको झण्डामुनी बसेर सकिन्छ भन्ने मैले राम्रोसँग बुझेको छु ।

    राजनीति गर्दिन भने पनि राजनीतिले त पछ्याइरहेकै हुन्छ । मात्र आफूले के का लागि राजनीति गर्ने कुरा मात्र प्रमुख हुँदो रहेछ ? तर, मैले पद प्राप्तिलाई मात्र कहिल्यै राजनिति मानिन र भविष्यमा मान्ने पनि छैन । हुन त राजनीतिमा लागेर सकारात्मकतालाई अंगाल्दै समाज, राष्ट्र र त्योभन्दा पनि माथि उठेर मानवता र जीवात्माकै लागि राजनीति गर्ने साहिहरु पनि भेट्टाएँ, भने नकारात्मक सोच र नीहित स्वार्थको लागि आत्मकेन्द्रित भएर राजनप्ति गर्ने मान्छे पनि भेट्टाएँ । अझ भन्दा आफ्नो प्रष्ट विचार तथा दृष्किोणकासाथ समाज परिवर्तनका लागि राजनीति गर्नेदेखि यसैलाई पेशा र व्यवसायको रुपमा यसलाई उपयोग गर्न खोज्ने देखि राजनीतिलाई नै आय–आर्जन र जीविकोपार्जनको माध्यम बनाएर हिँडेका पनि भेट्टाएँ । निस्वार्थ भावनाले परिवर्तनको हुटहुटी बोकेर लागेका साथीहरुलाई सधै सम्मान रहनेछ भने स्वार्थकेन्द्रित पात्रलाई मेरो भन्नु केही छैन । म राजनीतिप्रति चासो राख्ने नागरिक भएको हुनाले पक्कै पनि आगामी दिनमा गुणका आधारमा सक्षम अनि भिजन भएका ब्यात्ति या समुहलाई नागरिकका हिसाबले समर्थन गर्ने नै छु । भविष्यमा पनि आफुले माया गरी तन, मन अनि धनले सके जति समर्पण गरी सिंचाई गरेको पार्टीको निरन्तर निगरानी गर्दै सल्लाह, सुझाव र सचेत गराइरहने वाचा पनि गर्न चाहन्छु । पार्टीमा नरहे पनि समाज ्रतिको मेरो उत्तरदायित्व सधै रहिरहनेछ र म निरन्तर समाजमा आफूले सकेको योगदान गरिरहने वाचा गर्दै आफ्नो व्यवसाय गरिरहेको म परिस्थिति र समयको मागले राजनीतिसँग जोडिएको थिएँ । अब फेरी आफ्नो व्यवसायलाई समय दिने छु र भविष्यमा यो समाज र देशलाई आवश्यक परे फेरी हरेक जायज अभ्यासको लागि तैयार रहने वाचा पनि गर्न चाहन्छु, धन्यवाद ।
                   
    ओम पौडेल 
    आजदेखि स्वतन्त्र नागरिक