शनिवार , फाल्गुण २३, २०८२
काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले राजनीतिमा हार–जीत स्वभाविक प्रक्रिया भएको बताउनुभएको छ । उहाँले जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने बताउनुभयो।
भक्तपुर–२ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिब खत्रीलाई बधाई दिदै उहाँले भन्नुभयो–‘जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै हार्दैन । अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ । भक्तपुर क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचनमा सहभागी भएको थिएँ । यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु ।’
पूर्वमन्त्री समेत रहनुभएका बस्नेतले जनताको विश्वास, माया र साथ नै सबैभन्दा ठूलो शक्ति भएको र बाँकी जीवन पनि जनताकै सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने बताउनुभयो । ‘सूर्य चिन्हमा मतदान गरी मप्रति विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीहरू, तथा चुनावी अभियानमा दिनरात खटिनुहुने पार्टीका साथीहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु, ’बस्नेतले भन्नुभयो ।
भक्तपुर–२ मा रास्वपाका राजिब खत्रीले ३३ हजार १३ मत प्राप्त गरी जीत सुनिश्चित गर्नुभएको छ । बस्नेतले ८ हजार ३४ मत प्राप्त गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij