शनिवार , फाल्गुण २३, २०८२
भैरहवा, २३ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुन पार्टीका नेता–कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । उहाँले राजनीति एउटा लामो यात्रा भएकोले यहाँ उतारचढाव आइरहने बताउनुभयो । ‘कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र संकल्प कमजोर हुनुहुँदैन । अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु, ’उहाँले भन्नुभयो ।
लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत भएको र आफूले रुपन्देही क्षेत्र नम्बर २ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गरेको उहाँले बताउनुभयो ।
उहाँले रुपन्देही-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुलभ खरेललाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । ‘यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । आशा छ, तपाईले यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्नुहुनेछ र रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचांईबाट अगाडी बढाउनुहुनेछ, ’नेता पौडेलले भन्नुभयो ।
निर्वाचनमा हार र जीत एउटा स्वभाविक प्रक्रिया भएको उहाँले बताउनुभयो । ‘मेरा लागि रुपन्देही र विशेष गरी क्षेत्र नम्बर २ को यो पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो । यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ, ’उहाँले भन्नुभयो ।
विगतमा भएका गल्ती कमजोरीहरूको गम्भीर समिक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाई रुपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुखदुःखमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ । यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु, ’उपाध्यक्ष पौडेलले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij