शनिवार , फाल्गुण २३, २०८२
भैरहवा, २३ फागुन । हज तथा उमराहका लागि साउदी अरब पुगेका नेपाली मुस्लिम तीर्थालुहरू खाडी क्षेत्रमा बढेको युद्ध तनावका कारण स्वदेश फर्किन नपाएर अलपत्र परेका छन् । उडान अवरुद्ध भएपछि उनीहरू हाल साउदी अरबको मदिना शहरमा बसिरहेका छन् ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–४ निवासी ताहिर अलीसहित ३६ जना १५ दिने प्याकेजमा हज तथा उमराहका लागि साउदी अरब पुग्नुभएको थियो । उहाँहरू ३ मार्च २०२६ मा हवाईमार्गबाट नेपाल फर्कने तयारीमा रहेका बेला खाडी क्षेत्रमा इरान र संयुक्त राज्य अमेरिकाबीच बढेको तनावका कारण उडान रोकिएपछि त्यहीँ रोकिनुभएको हो ।
तीर्थालुहरूका अनुसार निर्धारित समयमा स्वदेश फर्किन नसक्दा उहाँहरू समस्यामा पर्नुभएको हो । ताहिर अलीले पठाउनुभएको सन्देशमा आफूहरू मदिना शरीफमा बसिरहेको र स्वदेश फर्किने उडानको प्रतीक्षामा रहेको बताउनुभएको छ । ‘नेपालबाट उमराह–हजका लागि आएका हामी ३६ जना तीर्थालु ३ मार्चमा फर्किने तयारीमा थियौं । तर, खाडी क्षेत्रमा युद्ध सुरु भएपछि हाम्रो उडान रोकियो । अहिले हामी मदिना शरीफमा अलपत्र परेका छौं, ’उहाँले भन्नुभयो ।
तीर्थालुहरू त्यहाँस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहे पनि हालसम्म उद्वारका लागि ठोस पहल हुन नसकेको उहाँको गुनासो छ । नेपालबाट गएका अन्य दुई समूहका करिब २० जना तीर्थालु पनि सोही क्षेत्रमा रोकिएको उहाँले जानकारी दिनुभयो ।
अलपत्र परेका तीर्थालुहरूले नेपाल सरकारसँग यथाशिघ्र उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । युद्धका कारण उडान अवरुद्ध हुँदा बसोबास तथा दैनिक व्यवस्थापनमा कठिनाइ भएको उनीहरूको भनाइ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij