आइतवार , फाल्गुण २४, २०८२
भैरहवा, २४ फागुन । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार खिमलाल भट्टराईले निर्वाचन परिणामलाई आफूले सहजरुपमा लिएको बताउनुभएको छ । उहाँले रुपन्देही विजयी रास्वपाका उम्मेदवार तौफिक अहमद खानलाई बधाई दिदै यस क्षेत्रमा मतदानमा भाग लिनुहुने र आफूलाई मतदान गर्नुहुने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्नुभएको छ ।
‘यस क्षेत्रका जनताको ममतापूर्ण स्नेह मैले पाएको छु । पार्टीका सहयोद्धा एवं कार्यकर्ता कमरेडहरुको सक्रिय सहयोग र साथ पाएको गहिरो अनुभूति मेरो मनभित्र छ । म सबैप्रति कृतज्ञ छु र आभारी छु । कमरेडहरु चित्त दुखाएर आफ्नो मनलाई पटक्कै विचलित नबनाउनुहोला । यस प्रक्रियामा जेजति क्षति पार्टीले भोग्नुपरेको छ, कार्यकर्ता दोषी छैनन् । मुल दोषी नेतृत्वपंक्ति नै हो । केन्द्रीय सदस्यको हैसियतमा म पनि भागिदारी छु, ’उहाँले भन्नुभयो । आफू सधैभरी यस क्षेत्रको जनसमुदाय र पार्टीपंक्तिप्रति ऋणी र साथमा रहिरहने प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
‘हामीले गम्भीर समीक्षा गर्दै बदलिएर देश, जनता र पार्टीपंक्ति सामु उपस्थित हुनुको विकल्प छैन । भुईमै बसेर पनि देश र जनताको आवाज बुलन्द गर्नु र जनसेवामा समर्पित हुनु हाम्रो कर्तव्य हो । पार्टी पंक्तिका हर कोही सदस्य पनि यस कार्यबाट विमुख नबनौं, ’ भट्टराईले भन्नुभयो ।
उहाँले रास्वपाबाट प्रधानमन्त्रीका रुपमा प्रस्तावित विजयी सांसद् बालेन साहजीलाई बधाई एवं जनअपेक्षा बमोजिम कार्यसफलताको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नुहुने निर्वाचन आयोगका पदाधिकारी एवं सदस्यहरु, सुरक्षा अंग लगायत सम्वद्ध सबैलाई उहाँले धन्यवाद दिनुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij