२०८२, फाल्गुण २४ गते

Mar 08 2026 | २०८२, फाल्गुण २४ गते

प्रतिनिधि सभा निर्वाचन–२०८२ शान्तिपूर्ण : सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीको भूमिका उल्लेखनीय

आइतवार , फाल्गुण २४, २०८२

  • 364
    Shares
  • 364
    Shares
  • भैरहवा, २४ फागुन । २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको सरोकारवालाले बताएका छन् । प्रभावकारी सुरक्षा व्यवस्थापन, सुरक्षाकर्मीको सक्रियता तथा सुरक्षा निकायबीचको समन्वयका कारण यस पटकको निर्वाचन व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न भएको जनाइएको छ ।

    २०७९ सालको निर्वाचनका क्रममा देशका विभिन्न जिल्लामा राजनीतिक दलका कार्यकर्ता तथा समर्थकबीच झडपका घटना भएका थिए । बाजुरा, रुकुम र कालीकोटमा भएका झडपमा ८ जनाको मृत्यु भएको थियो भने इलाम, सर्लाही, दोलखा, दाङ, नवलपरासी पश्चिम, हुम्ला, धादिङ, ललितपुर, तनहुँ, म्याग्दी, खोटाङ र भोजपुरमा गरी २३ जना घाइते भएका थिए । त्यसबाहेक विभिन्न स्थानमा विस्फोटक पदार्थ राखेर निर्वाचन प्रक्रियामा अवरोध गर्ने प्रयास भएका थिए भने करिब ५० स्थानमा झडपका घटना भएको तथ्यांक सार्वजनिक भएको थियो।
    तर, २०८२ सालको निर्वाचनमा भने त्यस्ता गम्भीर प्रकृतिका घटना नदेखिएको सुरक्षा निकायले जनाएको छ । मतदान केन्द्रहरूमा कडा र व्यवस्थित सुरक्षा व्यवस्था मिलाइएकाले कुनै पनि स्थानमा ठूलो झडप वा हिंसात्मक घटना नभएको सुरक्षा विज्ञहरूले बताएका छन् । केही स्थानमा सामान्य तनाव उत्पन्न भए पनि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई अवस्था सामान्य बनाएका थिए ।

    यसपटकको निर्वाचन शान्तिपूर्ण बनाउन नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाको भनाइ छ । हालैका आन्दोलनका क्रममा क्षति व्यहोरेको अवस्थाका बीच पनि प्रहरी संगठन उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा परिचालन भएको देखिएको छ । संविधानविद् तथा कानुन व्यवसायी सूर्य अधिकारीले निर्वाचन शान्तिपूर्ण हुनुमा प्रभावकारी सुरक्षा व्यवस्थापन मुख्य कारण रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘राज्यका सुरक्षा निकाय, निर्वाचन व्यवस्थापन र प्रशासनबीचको समन्वय प्रभावकारी भएकाले यसपटकको निर्वाचन सहज रूपमा सम्पन्न भएको हो ।’

    त्यसै गरी त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक उमेशचन्द्र रिजालले विगतका अनुभवका आधारमा यसपटक सुरक्षा रणनीति परिमार्जन गरिएकाले जोखिम न्यूनीकरणमा सफलता मिलेको बताउनुभयो ।

    अधिकारकर्मी अनेत्र खड्काले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा सुरक्षाकर्मीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो र उहाँले भन्नुभयो–‘निर्वाचनका क्रममा कुनै ठूलो दुर्घटना, क्षति वा हिंसात्मक घटना हुन नदिन सुरक्षा निकायले प्रभावकारी भूमिका खेलेका छन् । यसले नेपालको लोकतान्त्रिक अभ्यासमा सकारात्मक सन्देश दिएको छ ।’

    निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको नेतृत्वपछि प्रहरी संगठनको व्यावसायिक क्षमता र कार्यदक्षतामा सुधार आएको सुरक्षा विश्लेषकहरूको भनाइ छ । निर्वाचनका क्रममा आईजीपी कार्कीले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई परिचालन गरी सुरक्षा व्यवस्थापनको उच्चस्तरीय अनुगमन र समन्वय सुनिश्चित गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभि नारायण काफ्लेले प्रहरी महानिरीक्षकको निर्देशनअनुसार देशभरका प्रहरी इकाइ परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनअघि नै संवेदनशील, अति संवेदनशील र सामान्य मतदान केन्द्रहरूको विश्लेषण गरी सुरक्षा रणनीति तयार पारिएको थियो । काफ्लेले भन्नुभयो–‘नेपाल प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागसँग प्रभावकारी समन्वय गर्दै सुरक्षा निगरानी, विवाद समाधान तथा सम्भावित जोखिम नियन्त्रणका लागि संयुक्त रूपमा काम गरेको थियो । त्यसका कारण छिटपुट घटनाबाहेक कुनै ठूलो घटना नभई निर्वाचन शान्तिपूर्ण, भयरहित र विश्वासनीय वातावरणमा सम्पन्न भएको हो ।’

    मानवीय क्षतिको दृष्टिले पनि २०७९ को तुलनामा २०८२ को निर्वाचन उल्लेखनीय रूपमा शान्तिपूर्ण देखिएको छ । विगतमा देखिएका झडप, विस्फोटक पदार्थ राख्ने प्रयास तथा मतदान अवरोधजस्ता घटना यस पटक दोहोरिन नपाएको सुरक्षा निकायको भनाइ छ ।

    समग्रमा निर्वाचन आयोग, सुरक्षा निकाय, प्रशासन, राजनीतिक दल तथा मतदाताबीचको सहकार्य र जिम्मेवार भूमिकाका कारण २०८२ सालको निर्वाचनलाई नेपालको लोकतान्त्रिक अभ्यासमा शान्तिपूर्ण र व्यवस्थित निर्वाचनका रूपमा स्थापित गर्न सफल भएको विश्लेषकहरूको भनाइ छ । नेपाल प्रहरीको अनुशासित परिचालन, प्रभावकारी सुरक्षा रणनीति तथा नेतृत्वदायी भूमिकाले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण योगदान दिएको ठहर गरिएको छ ।

    पूर्व प्रहरी अधिकृतहरूका अनुसार प्रहरी महानिरीक्षक कार्कीले नेतृत्व सम्हालेपछि संगठनभित्र व्यावसायिकता, समान व्यवहार तथा सेवा–सुविधामा सुधार देखिएको छ । तल्लो दर्जादेखि वरिष्ठ अधिकृतसम्म समान अवसर र प्रविधिमैत्री साधनस्रोतको प्रयोगलाई प्राथमिकता दिइएकाले प्रहरी संगठन क्रमशः आधुनिकतर्फ उन्मुख भएको उनीहरूको भनाइ छ । हाल सम्पन्न निर्वाचनलाई पनि त्यसको उदाहरणका रूपमा लिइएको छ, जसमा पहिलो घेरामा रहेर काम गरेको नेपाल प्रहरीले उत्कृष्ट भूमिका निर्वाह गरेको आम नागरिकले बताएका छन् ।