२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

लुम्बिनी प्रदेशमा ४० वर्षमुनीका ११ जनाले जिते प्रत्यक्ष चुनाव

मंगलवार , फाल्गुण २६, २०८२

  • 352
    Shares
  • 352
    Shares
  • भैरहवा, २६ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) ४० वर्षमुनीका ११ जना निर्वाचित भएका छन् । जसमध्ये १० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का र एकजना नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् ।

    पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै क्षेत्रमा रास्वपाले जितेको छ । जसमध्ये ४ जना ४० वर्षमुनीका छन् । रुपन्देही–१ बाट ५४ हजार ८ सय ४५ मतसहित ३५ वर्षिय सुनिल लम्साल निर्वाचित हुनुभएको छ । दोस्रो स्थानमा रहनुभएका नेपाली काँग्रेसका उम्मेदवार तथा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा बहादुर खत्रीले ११ हजार ९ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

    रुपन्देही–२ मा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेललाई पराजित गर्दै २८ वर्षिय सुलभ खरेल निर्वाचित हुनुभएको छ । खरेल ५६ हजार ५ सय ५० मतका साथ निर्वाचित हुँदा पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गर्नुभएको छ ।

    रुपन्देही–४ मा नेकपा (एमाले) का उम्मेदवार तथा प्रतिनिधि सभाका पूर्व सदस्य प्रमोद कुमार यादवलाई पराजित गर्दै ३६ वर्षिय कन्हैया बनिया विजयी हुनुभएको छ । बनिया २८ हजार ६६ मतका साथ विजयी हुँदा यादवले २० हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ । बनिया २०७९ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका बनिया निर्वाचित हुनुभएको छ ।

    रुपन्देही–५ मा ३८ वर्षिय तौफिक अहमद खान ३८ हजार ८ सय ६ मतका साथ निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार तथा राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराईलाई २५ हजार ७ सय ६ मतान्तरले पराजित गर्दै तौफिक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

    त्यस्तै गुल्मी क्षेत्र नम्बर १ मा ३४ वर्षिय सागर ढकाल निर्वाचित हुनुभएको छ । २९ हजार ६ सय ४२ मतका साथ ढकाल निर्वाचित हुँदा उहाँका निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप कुमार ज्ञवालीले १५ हजार १ सय ८१ मत प्राप्त गर्नुभएको छ ।

    दाङ–२ मा नेकपा (एमाले) का महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेललाई पराजित गर्दै ३९ वर्षिय विपिन कुमार आचार्य निर्वाचित हुनुभएको छ । आचार्य ४३ हजार ५ सय ५९ र पोखरेलले १५ हजार २ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

    दाङ–३ मा ३८ वर्षिय कमल सुवेदी ४४ हजार २ सय ४८ मतसहित निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्व सांसद् दिपक गिरीलाई २७ हजार ७ सय ९५ मतान्तरले पराजित गर्दै सुवेदी निर्वाचित हुनुभएको हो ।

    बाँके–३ मा ३५ वर्षिय खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ । सुनार २९ हजार ५ सय ५१ मतसहित निर्वाचित हुँदा उहाँका निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का सुमन मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गर्नुभएको छ ।

    प्रतिनिधि सभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा ३७ वर्षिय हरी प्रसाद भुसाल विजयी हुनुभएको छ । भुसाल २२ हजार ६ सय ४९ मतका साथ निर्वाचित हुँदा उहाँका निकटतम प्रतिष्पर्धी एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ ।

    प्युठान–१ मा पनि नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेललाई पराजित गर्दै ३१ वर्षीय सुशान्त वैदिक विजयी हुनुभएको छ । वैदिकले २७ हजार ४ सय ६९ र पोखरेलले १८ हजार ३ सय ३८ मत प्राप्त गर्नुभएको छ ।

    पाल्पा–१ मा पनि नेपाली कांग्रेसका ३८ वर्षिय सन्दीप राना १८ हजार ३ सय ३६ मतसहित निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का उम्मेदवार नारायण प्रसाद आचार्यलाई १ हजार ५ सय १७ मतान्तरले पराजित गर्दै राना निर्वाचित हुनुभएको हो । प्रतिनिधि सभातर्फ लुम्बिनी प्रदेशमा २६ वटा निर्वाचन क्षेत्र छन् ।...