२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

रुपन्देहीका पाँचमध्ये एमालेको सबैभन्दा धेरै मत क्षेत्र नम्बर ४ मा

मंगलवार , फाल्गुण २६, २०८२

  • 694
    Shares
  • 694
    Shares
  • भैरहवा, २६ फागुन । २०७९ सालमा रुपन्देहीका पाँचवटा निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ तीनवटा क्षेत्र जितेको नेकपा (एमाले) ले २०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एउटा सिट पनि जित्न सकेन । 

    २०७९ रुपन्देही क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ उम्मेदवारी नदिएको एमालेले जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार ओमप्रकाश यादव (गुल्जारी) लाई समर्थन गरेको थियो । 
    फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही–४ मा एमालेले सबै क्षेत्रभन्दा बढी मत पाएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमालेले जिल्लाका अन्य क्षेत्र भन्दा बढी मत ल्याएको हो ।

    २०७४ र २०७९ सालमा यो क्षेत्रबाट नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका प्रमोद कुमार यादव यसपटक नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभयो । २०७४ सालमा निर्वाचित हुनुभएका यादव २०७९ सालमा भने पराजित हुनुभयो । यसपटकको निर्वाचनमा रुपन्देही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया निर्वाचित हुनुभएको छ । दोस्रो स्थानमा रहनुभएका एमाले उम्मेदवार यादवले २० हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

    प्रत्यक्षतर्फ रुपन्देही–१ मा एमाले उम्मेदवार तथा पूर्व प्रदेश सभा सदस्य दधिराम न्यौपानेले ७ हजार ४ सय ८८, क्षेत्र नम्बर २ का उम्मेदवार तथा पूर्व उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले १२ हजार ८ सय ६१, ३ का उम्मेदवार तथा पूर्व सांसद् बासुदेव घिमिरेले ८ हजार २ सय ७५ र क्षेत्र नम्बर ५ का उम्मेदवार तथा राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराईले १३ हजार १ सय मत प्राप्त गर्नुभएको छ । 

    समानुपातिकतर्फ पनि अन्य क्षेत्र भन्दा एमालेले बढी मत मत प्राप्त गरेको छ । रुपन्देही–४ मा पार्टीले १५ हजार ६ सय ७८ मत प्राप्त गरेको हो ।

    निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ एमालेले रुपन्देही–१ मा ७ हजार १५, २ मा १० हजार ८ सय ९८, ३ मा ७ हजार ६ सय ८९ र ५ मा १० हजार ३ सय १६ मत प्राप्त गरेको छ ।