२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

नेता बन्ने प्रवृत्तिले राजनीति सस्तो र विकृत बन्यो’: पम्फा भुसाल

बिहिवार , फाल्गुण २८, २०८२

  • 220
    Shares
  • 220
    Shares
  • काठमाडौं, २८ फागुन । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले राजनीति अत्यन्तै सस्तो र विकृत बन्दै गएको बताउनुभएको छ । 

    मोतीदेवी स्मृति केन्द्रको कार्यक्रममा बोल्दै नेतृ भुसालले यस्तो बताउनुभएको हो । उहाँले विगतका राजनीतिक आन्दोलनहरूमा नेता तथा कार्यकर्ताले गरेको कठोर त्याग, तपस्या र जेलनेलको स्मरण गर्दै अहिले बिना कुनै संघर्ष ‘खादा र टिका’ को भरमा पद र अवसर प्राप्त गर्ने होडबाजी चलेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

    उहाँले त्यागको ठाउँमा सस्तो लोकप्रियता र अवसरवाद हाबी हुनु नेपाली राजनीतिको ठूलो विडम्बना भएको बताउनु भयो । आन्दोलनमा रगत पसिना बगाएका, कितावमा नाम नलेखिएका र मञ्चमा उपस्थित गराउन नसकिएका हजारौँ योद्धाहरू ओझेलमा परेको तर संघर्ष नै नगरेकाहरूले राजनीति गरिरहेको बताउनु भयो ।

    न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र राजनीतिमा महिलाहरूको बढ्दो उपस्थितिले केही आशा जगाए पनि राजनीतिमा भित्रिएको ‘सस्तो अवसरवाद’ ले समग्र आन्दोलनको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘अहिले राजनीति पनि सस्तो भएको छ । एकातिर यो त्यागको कुरा छ । हामीले यहाँ उपस्थित नगराएका, हामीले किताव नलेखेका पंक्तिको अर्को छ तर एउटा खादा लाएर, टिका लाएर पनि राजनीतिक दलको नेता हुने, पार्टी प्रवेश हुने, नेतृत्वमा पुग्ने राजनीतिक अवसर प्राप्त गर्ने एउटा फेरि एउटा के भन्ने त्यसलाई ? यो त्यागको ठाउँमा त्यो भन्यो भने त त्यो त विकृति जस्तो लाग्छ ।

    त्यो परम्परा हामीकहाँ खडा भएको छ । तर अहिले नेपालमा राजनीतिमा, न्यायपालिकामा, प्रशासनिक क्षेत्रमा, सुरक्षा क्षेत्रमा सबैतिर जुन ढंगको एउटा सहभागिता छ र हामीले पहिलो महिला राष्ट्रपति पनि बनाउन सक्यौँ गणतन्त्र नेपाल निर्माण गरेका कारणले र संघीयता र समावेशिताका कारणले।

    अब सबैभन्दा उत्पीडित सबैभन्दा पिँधमा परेको तप्का पनि नीति निर्माण गर्ने तह र कार्यान्वयनको तहमा पुग्ने हाम्रो जो एउटा स्थिति बनेको छ र फेरि चुनौती पनि सँगसँगै खडा भएको छ ।’

    उहाँले ‘सस्तो अवसरवाद’ लाई सच्याएर अगाडि बढ्नुपर्ने चुनौती रहेको बताउनु भयो ।