२०८२, फाल्गुण २९ गते

Mar 13 2026 | २०८२, फाल्गुण २९ गते

आशुतोष मिश्रको आग्रह–जनताको भरोसालाई निराशामा परिणत हुन नदिनुहोस्

शुक्रवार , फाल्गुण २९, २०८२

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २९ फागुन । नेपाली काँग्रेसका नेता आशुतोष मिश्रले जनताले राखेको आशा र भरोसालाई बहाना र निराशामा परिणत हुन नदिन आग्रह गर्नुभएको छ । उहाँले रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कन्हैया बनियासहित १६५ क्षेत्रका विजयी उम्मेदवारहरुलाई बधाई ज्ञापन गर्दै यस्तो बताउनुभएको हो ।

    उहाँले जनताको आशा निराशामा परिणत भए रुपन्देही–४ लगायत मुलुकभरीका जनता आगामी निर्वाचनमा फेरि नयाँ प्रयोग गर्न पनि पछि नहट्ने बताउनुभयो । ‘विजयी हुनुभएका माननीयज्यूलाई पुनः बधाई । मेरो केवल एउटै अनुरोध छ–जनताले राखेको आशा र भरोसालाई बहाना र निराशामा परिणत हुन नदिनुहोस्, ’उहाँले भन्नुभयो ।

    फागुन २१ गते सम्पन्न निर्वाचनमा रुपन्देही–४ बाट उम्मेदवार प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहनुभएका नेता मिश्रले यसपटक रुपन्देही–४ का जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारमाथि विश्वास गरेको बताउनुभयो । उहाँले सम्पूर्ण मतदाता, शुभेच्छुक तथा देशभरका नागरिकहरूमा धन्यवाद व्यक्त गर्नुभएको छ ।  ‘२०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनका १६५ वटै निर्वाचन क्षेत्रका विजयी उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । प्रत्येक निर्वाचन क्षेत्रको आफ्नै विशेषता, समस्या, सम्भावना र राजनीतिक गतिशीलता हुन्छ । मेरो निर्वाचन क्षेत्र रुपन्देही–४ पनि त्यसबाट अलग छैन,’मिश्रले भन्नुभयो ।

    रुपन्देही–४ को करिब ६० प्रतिशत भू–भाग मुख्य मर्चवार क्षेत्रले ओगटेको बताउनुभयो । बाँकी भाग मायादेवी, सियारी र लुम्बिनी संस्कृत क्षेत्रतर्फ पर्ने बताउनुभयो । ‘यो क्षेत्र आज पनि विकासका दृष्टिले धेरै पछाडि परेको छ । यहाँका नागरिकले अझै पनि आधारभूत विकासको प्रतिक्षा गरिरहेका छन् । यस्ता मुद्दाहरू समाधान गर्ने एउटा महत्वपूर्ण माध्यम भनेको आम निर्वाचन नै हो ।त्यसैले जनताले गम्भीरतापूर्वक विचार गर्नुपर्छ–कुन राजनीतिक दल वा उम्मेदवारले उनीहरूको समस्या र अपेक्षालाई सम्बोधन गर्न सक्छ, ’उहाँले भन्नुभयो ।