२०८२, फाल्गुण ३० गते

Mar 14 2026 | २०८२, फाल्गुण ३० गते

रमजानको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग

शुक्रवार , फाल्गुण २९, २०८२

  • 208
    Shares
  • 208
    Shares
  • भैरहवा, २९ फागुन । इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व रमजान महिनाको अवसर पारेर रुपन्देहीका विभिन्न स्थानका दुई सय विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । तौहिद मानव परोपकार सेवा संघ, कोटहीमाई गाउँपालिका–५, रुपन्देहीको आयोजनामा तथा वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी यूकेको सहयोगमा बिहीबार कोटहीमाई–५ स्थित बेनीनगरमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

    आयोजक संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारले रमजान महिना धार्मिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण महिना रहेका बताउनुभयो । यस महिनामा गरिने दान, सहयोग र परोपकारी कार्यलाई विशेष पुण्यदायी मानिने भएकाले विभिन्न सहयोगी हातहरूको साथमा विपन्न परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरिएको उहाँले बताउनुभयो ।
    उहाँका अनुसार चामल, पिठो, तेल, नुन र दाललगायतका खाद्यान्न सामग्री कोटहीमाई, मर्चवारीमाई, सम्मरीमाई, मायादेवी, सियारी तथा शुद्धोधन गाउँपालिकाका विपन्न मुस्लिम तथा हिन्दु समुदायका परिवारहरूलाई वितरण गरिएको हो । यस कार्यक्रममार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवताको भावना अझ बलियो बनाउने उद्देश्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

    खाद्यान्न वितरण कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले संस्थाले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभयो । उहाँले यस्तो सहयोगी कार्यले समाजमा मानवता, सहकार्य र सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘मुस्लिम समुदायका लागि पवित्र मानिने रमजान महिनामा सम्पन्न परिवारले विपन्न परिवारलाई सहयोग गर्नु निकै सकारात्मक र प्रेरणादायी कार्य हो । यसले समाजमा एक–अर्काप्रति सहयोग र सद्भावको भावना बढाउने काम गर्छ ।’ अध्यक्ष त्रिपाठीले तौहिद मानव परोपकार सेवा संघले समाजमा गर्दै आएका विभिन्न मानवीय तथा सामाजिक गतिविधिहरू सराहनीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई गाउँपालिकाबाट पनि आवश्यक सहयोग र सहकार्य गर्दै आएको बताउनुभयो ।

    IMG_2075.JPG

    आयोजकले आगामी दिनमा पनि विपन्न तथा आवश्यकता रहेका परिवारहरूको सहयोगका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।