
मंगलवार , श्रावण ६, २०७७
भैरहवा, ५ साउन ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७\०७८ का लागि ल्याएको मौद्रिक नीतिबाट रुपन्देहीका उद्योगी व्यवसायी उत्साहित भएका छन् । मौद्रिक नीति कार्यान्वयन भए आर्थिक क्षेत्रमा क्रान्ति नै हुने उनीहरुको टिप्पणी छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले मौद्रिक नीतिले उद्योगी व्यवसायीले उठाउँदै आएको अधिकांश माग पुरा गरेको बताए । उनले पुनर्कर्जा लगायतका व्यवस्थाले उद्यमी तथा पर्यटन क्षेत्रले राहत पाउने बताए । “ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधाले पनि व्यवसायीलाई सहयोग पुग्छ, यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ”–अध्यक्ष न्यौपानेले भने ।
बैंकको किस्ता पछाडि धकेलिनु, साना तथा मझौला व्यवसायीलाई राहत पुग्ने ढंगले कर्जाको योजना ल्याउनु पनि मौद्रिक नीतिका सकारात्मक पक्ष रहेको उनले बताए । “मौद्रिक नीतिले टाट पल्टिने अवस्थामा पुगेको उद्योगधन्दालाई बचाउन ठूलो सहयोग पुग्नेछ, साथै कर्जा लिंदा लाग्ने सेवाशुल्क घटाइएकाले पनि व्यवसायीलाई राहत पुग्नेछ”–न्यौपानेले भने ।
त्यस्तै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले निजी क्षेत्रलाई कठिन परिस्थितिमा राहत हुने र दीर्घकालीन योजनाका साथ मौद्रिक नीति आएको बताए । “हामीले उठाएका धेरै कुरा मौद्रिक नीतिले समेटेको छ, यसले उद्योगी व्यवसायीलाई ठूलो राहत पुगेको छ”–उनले भने । उद्योगीलाई थप कर्जा दिने घोषणा हुनु, ब्याज घटाइनु जस्ता कुराहरु सकारात्मक पक्ष रहेको र यसको व्यावहारिक कार्यान्वयनमा जोड दिनुपर्ने भण्डारीले बताए । मौद्रिक नीतिले कृषि कर्जालाई बढाएर कुल कर्जा प्रवाहको १५ प्रतिशत पु¥याएको भन्दै उनले यो स्वागतयोग्य भएको बताए । “यसले आगामी दिनमा देशलाई आत्मनिर्भरतर्फ उन्मुख गराउन सघाउ पु¥याउँछ”–उनले भने ।
त्यसै गरी पर्यटन व्यवसायी सञ्जय वजिमयले कोभिड–१९ बाट सिर्जित समस्याका लागि पर्यटन लगायतका व्यवसायलाई राहत पुग्ने गरी मौद्रिक नीति आएको बताए । कार्यान्वयन भएन भने नीति जतिसुकै राम्रो भए पनि अर्थ नहुने भन्दै उनले प्रभावकारी ढंगले कार्यान्वयनमा ध्यान दिन माग गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij