बुधवार , चैत्र ४, २०८२
काठमाडौं, ४ चैत । मुस्लिम धर्मालम्वीहरुको पर्व रमजान महिनाको अवसरमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको सहयोगमा बुधवार काठमाडौको मैतीदेवीमा खाद्यान्न वितरण गरिएको हो । मुस्लिमहरुको एक महिने रमजान महिनाको अवसरमा एक महिनालाई नै पुग्नेगरि खाद्यान्न वितरण गरेको मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रतिपरिवार एक बोरा (२५ केजी) चामल, पाँच केजी आँटा, दाल, चना, चिनी, बेसन, चियापत्ति र नुन लगायतका सामग्री उपलब्ध गराइएको छ । उहाँले यसवर्ष रमजानको अवसर पारेर काठमाडौंको मैतीदेवी क्षेत्रमा २ सय र यसअघि बारा जिल्लामा १ सय ५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको बताउनु भयो ।
नेपाल–भारत मिल्लत परिषद् केन्द्रले हरेक वर्ष रमजानको समयमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँले यसअघि भूकम्प, कोभिड लगायतको समयमा पनि उक्त संस्थाले सहयोग गरेको बताउनु भयो । अन्सारीकाअनुसार रमजानको पवित्र महिनामा आर्थिक रूपमा कमजोर परिवारले पनि सहज रूपमा चाडपर्व मनाउन सकुन् भन्ने उद्देश्यले राहत वितरण गरिएको हो ।
उहाँले भन्नुभयो, ‘अहिले यो रमजानमा एक महिनाको व्रत रहेको छ । नेपाल भारत मिल्लत परिषद् केन्द्रले हरेक वर्ष रमजान पर्वको अवसरमा एकल महिला, खाद्यान्नको समस्या भएका व्यक्तिहरुलाई एक महिनालाई पुग्ने राहत वितरण गर्ने गरेका छौँ । एक बोरा चामल, पाँच केजी आँटा, दाल, चना, चिनी, बेसन, चियापत्ति, नुन लगायतका सबै सामाग्री वितरण गर्ने गरेका छौँ ।
२५ केजी चामलको बोरा रहेको छ । यसले उनीहरुको घरमा पनि चाडपर्व मनाउन, रमाईलो गर्न सहज होस् भन्ने हिसावले हामीले आज २ सय भन्दा बढी परिवारलाई वितरण गरेका छाँै । यो भन्दा पहिला पनि हामीले बारा जिल्लामा १५० घरपरिवारलाई वितरण गरेका थियौँ ।’
उहाँले ईस्लामले आवश्यक परेमा बेलामा अरुलाई सहयोग गर्नु नै धर्म भन्ने सिकाएकोले दुःखी गरिबहरुलाई सहयोग गरेको बताउनु भयो । नेपाल भारत मिल्लत परिषद् केन्द्र र युएई एडको संयुक्त पहलमा ३ सय भन्दा बढी घरपरिवार लाभान्वित भएको उहाँको भनाई छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij