२०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

महिलाको शरीर आफैँमा ‘वारदात स्थल’ हो : न्यायाधीश मल्ल

शुक्रवार , चैत्र ६, २०८२

  • 670
    Shares
  • 670
    Shares
  • काठमाडौं, ६ चैत । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले यौनजन्य हिंसामा परेका महिलाहरूको न्यायका लागि अदालतले विश्वमै उदाहरणीय र नयाँ नजिरहरू स्थापित गरेको बताउनुभएको छ । 

    शुक्रवार भक्तपुरमा आयोजित कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बलात्कारका मुद्दामा ‘लोकेशन’ वा घटनास्थल भन्न नसकेकै आधारमा पीडितले मुद्दा हार्ने अवस्थाको अन्त्य गर्दै अदालतले ‘महिलाको शरीर आफैँमा हिंसाको स्थल वा वारदात स्थल हो’ भन्ने सिद्धान्त स्थापित गरेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले अनुसन्धान प्रणालीमा रहेको कमजोरीप्रति पनि चासो व्यक्त गर्नुभयो । मुखमा बलात्कार भएको पीडितको बयान हुँदाहुँदै योनि परीक्षण गर्न पठाउने जस्ता त्रुटिपूर्ण अनुसन्धानले न्यायमा बाधा पु¥याएको उहाँको भनाइ थियो । पीडितले विरोधाभाषपूर्ण बयान दिएमा त्यसलाई ‘रेप ट्रमा सिन्ड्रोम’ का रूपमा बुझ्नुपर्ने नजिर समेत सर्वोच्चले कायम गरेको उहाँले उल्लेख गर्नुभयो । 

    सम्मेलनमा बोल्दै न्यायाधीश मल्लले भन्नुभयो,‘अनि अचम्म लाग्छ के कानूनहरु बदलिन्छ, यो हिंसाको कुरा गर्दाखेरि एउटा बालिका बलात्कृत भई । र त्यो बालिका बलात्कृत भएपछि शुरुदेखि नै मुद्दामा के आयो भन्दाखेरि उसको मुखमा बलात्कार गरियो मुखमा बलात्कार गरियो भन्यो । तर इन्भेस्टिगेसन गर्दाखेरि र मेडिकल रिपोर्ट माग्दाखेरिस्वास्थ्य परीक्षण गर्न पठाउँदाखेरि योनि परीक्षण गर्न पठाइयो । मुखमा बलात्कार भयो भनेको छ योनि परीक्षण गर्न पठाएको छ ।

    भन्दाखेरि कानूनहरु परिवर्तन भएका छन् । तर त्यसको जानकारी र त्यसको सशक्तता हामी कानून व्यवसायी र अदालतलाई मात्र भएर पनि पुग्दैन रहेछ । सम्पूर्ण अनुसन्धान प्रणालीहरुलाई पनि र त्यसदेखि फरेन्सिकमा पनि त्यो खालको एउटा सचेतनाको कार्यक्रमहरु पनि चाहिन्छ । हामीले नगरेको पनि त होइन ।

    जहाँ एउटा महिला हिंसामा परी बलात्कृत भई र बलात्कृत भइसकेपछि जब उसलाई उसले कहाँ बलात्कार भयो भन्ने कुराको स्थान भन्न नसकेकोले मुद्दा हार्दै गएको थियो । र हामीले स्थापित ग¥यौं । एउटा नयाँ सिद्धान्त स्थापित ग¥यौं । बलात्कारको लागि तिमी लोकेशन अथवा कहाँ अपराध भयो त्यो क्राइम सिन भएको ठाउँ हेर्न पर्दैन महिलाको शरीर आफैँ नै हिंसाको स्थल हो भन्ने कुरा अथवा वारदात स्थल हो भन्ने कुरा पनि हामीले स्थापना ग¥यौं नि ।

    हामीले विश्वमै नयाँ नयाँ नजिरहरु स्थापित गरेको छौँ । यसरी जब मान्छेले एउटा पीडितले विरोधाभाषपूर्ण बयानहरु गर्छ भनेदेखि त्यो रेप ट्रमा सिन्ड्रोम हो भन्ने कुरा पनि स्थापित गरेको छौँ । त्यसैले हामी पछाडि छैनौँ। हामी अगाडि बढिराखेको छौँ । तर अझ गम्भीर भएर समन्वयात्मक ढंगबाट हामीहरु कसरी अगाडि बढ्ने भन्ने कुरा नै हाम्रो लागि महत्वपूर्ण छ ।’

    कुनैपनि हालतमा हिंसामा परेका महिला र बालिकाहरूको न्यायका लागि कसर बाँकी नराख्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।