२०८२, चैत्र १० गते

Mar 24 2026 | २०८२, चैत्र १० गते

नेपाली पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य

मंगलवार , चैत्र १०, २०८२

  • 307
    Shares
  • 307
    Shares
  • काठमाडौं, १० चैत । नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ र अन्तर्राष्ट्रिय संस्था ‘ऊलमार्क’ बीच सहकार्य शुरु भएको छ । 

    राजधानीमा आयोजित ‘अपर्चुनिटी विथ मेरिनो ऊल फर नेपाल’ विषयक कार्यक्रममा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अष्ट्रेलियाको ऊलमार्कसँगको सहकार्यले नेपाली अर्थतन्त्र र निर्यात क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष पाण्डेकाअनुसार यो परियोजनाका लागि विगत ६ महिनादेखि भारत र नेपालमा विभिन्न चरणमा छलफल र अध्ययन भएको थियो ।

    नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा ऊलमार्कसँगको सहकार्य झनै महत्वपूर्ण हुने पाण्डेको भनाइ छ । मेरिनो ऊनबाट बनेका कपडाहरू विश्व बजारमा गुणस्तरीय र महँगो मानिन्छन् ।

    नेपालको निर्यातको आकार सानो भएपनि ‘निस मार्केट’का लागि यो उपयुक्त हुने र यसले राज्यको ढुकुटीमा राम्रो योगदान दिने पाण्डेले बताउनु भयो । हाल नेपालबाट वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको तयारी पोशाक निर्यात भइरहेको छ, जुन गलैँचापछि तेस्रो मुलुक निर्यात हुने दोस्रो ठूलो वस्तु हो ।

    देशमा आउन लागेको नयाँ सरकार र युवा प्रधानमन्त्रीप्रति संकेत गर्दै अध्यक्ष पाण्डेले निजी क्षेत्रको समस्या बुझ्ने र व्यापार व्यवसायलाई प्राथमिकता दिने सरकारको अपेक्षा गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘हामीले ऊलमार्कसँग कसरी काम गर्ने भनेर लामो समय छलफल ग¥यौँ । हाम्रो सदस्य कम्पनी ‘ट्रिकोट’ ले त यसमा काम शुरु नै गरिसकेको छ ।

    यो नेपालका लागि ठूलो अवसर हो । स्तरोन्नतिपछि आउने व्यापारिक चुनौती र ‘डबल ट्रान्सफर्मेसन’ को प्रावधानमा जानुपर्ने बाध्यात्मक अवस्थामा ऊलमार्कले हामीलाई ठूलो सहयोग पु¥याउन सक्छ । युवा र ऊर्जावान प्रधानमन्त्री आउँदै हुनुहुन्छ । यो सरकारले निर्यात र निजी क्षेत्रको विकासमा विशेष ध्यान दिनेछ भन्ने हाम्रो विश्वास छ ।’

    अहिले फ्याब्रिक (कपडा) आयात गरेर काम शुरु गरे पनि भविष्यमा नेपालमै बाख्रा पालन गरी प्राकृतिक रेशा उत्पादन गर्न सकिने सम्भावना रहेको बताउनु भयो । भविष्यमा ऊलमार्कसँग मिलेर नेपालमै बाख्रा पालन र कच्चा पदार्थ उत्पादनमा पनि साझेदारी गर्न सकिने बताउनु भयो ।