२०८२, चैत्र ११ गते

Mar 25 2026 | २०८२, चैत्र ११ गते

शुद्धोदनमा २९ औं घुम्ती बैठक सम्पन्न

बुधवार , चैत्र ११, २०८२

  • 184
    Shares
  • 184
    Shares
  • भैरहवा, ११ चैत । जिल्ला समन्वय समिति (जिसस), रुपन्देहीको २९ औं घुम्ती बैठक मंगलबार मानपकडीस्थित शुद्धोदन गाउँकार्यपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
    कार्यक्रममा विभिन्न विभिन्न पालिकाका प्रमुख/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, रुपन्देही प्रहरी प्रमुख, कर्मचारी लगायतको उपस्थिति थियो ।
    बैठकमा न्यायीक समितिमा दर्ता भएका मुद्दा/निवेदन, फैसला, समस्या, असल अभ्यास सम्बन्धमा, विद्यालय सुधारका प्रयास र उपलब्धी, जिल्ला समन्वय समिति कार्यालय भवनको निर्माणसम्पन्न भएको नयाँ भवन स्थानान्तरण लगायतका विषयमा छलफल भएको थियोे ।

    बैठकमा जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाई, शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाही, जनप्रतिनिधि, कर्मचारीलगायतले बोल्नुभएको थियो ।

    सो अवसरमा बोल्दै जिसस प्रमुख चपाईले सामूदायिक विद्यालयमा विद्यार्थीहरुको हाजिरी पुस्तिका कत्तिको व्यवस्थित छ भनेर महिनामा कम्तीमा एकपटक अनुगमन गर्न सके पनि २० प्रतिशत शिक्षामा सुधार हुने बताउनुभयो । 

    बैठकमा स्वागत मन्तव्य राख्नुहुँदै शुद्धोदन गाउँपालिकाको उपाध्यक्ष शान्ता देवी ज्ञवालीले अहिले पनि पालिकाहरुमा छाडा चौपाय र फोहोरमैला व्यवस्थापन हुन नसकेको बताउनुभयो ।
    न्यायीक समितिबारे जानकारी गराउनुहुँदै जनप्रतिनिधि तथा कर्मचारीले समिति क्षेत्रअधिकारबाहिरका मुद्दा पनि आउने गरेको बताउनुभयो । विशेष गरी जग्गा विवाद सम्बन्धी उजुरी आउने गरेको उहाँहरुको भनाइ छ ।

    सोही बैठकमा शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले पालिकाको असल अभ्यासबारे प्रस्तुतीकरण गर्नुभएको थियो । बैठकले फागुन २१ गते सम्पन्न निर्वाचनमा रुपन्देहीबाट प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्य सदस्यहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ । 

    घुम्ती बैठक प्रत्येक २–२ महिनामा फरकफरक पालिकामा बस्दै आएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताउनुभयो ।