
बिहिवार , बैशाख २३, २०७८
बुटवल, २३ बैशाख ।
लुम्बिनी प्रदेशसभाको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) का नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गरेको छ ।
यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका ४२ जना प्रदेश सभासदहरुले नवनियुक्त मुख्यमन्त्रीले किर्ते हस्ताक्षर र जालसाजी गरेको भन्दै मुख्यमन्त्री खारेजी र बहिस्कारको निर्णय गरेका थिए ।
बिहीबार विपक्षी गठबन्धनका चार दलका प्रमुख सचेतकले एक विज्ञप्ती जारी गर्दै हाल ३८ सदस्य रहेको नेकपा एमालेले बहुमतको सरकार भन्दै असंवैधानिक तवरले सरकार चलाएको बताउँदै तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीसंग माग गरेका छन् । उनीहरुले ४२ प्रदेशसभा सदस्य रहेको विपक्षी गठबन्धनका नेता केसीलाई तत्काल मुख्यमन्त्री नियुक्त गर्न समेत माग गरेका छन् ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीमगर (बसन्त), नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्री, जनता समाजवादी पार्टीका प्रमुख सचेतक पुर्मती ढेंगामगर र राष्ट्रिय जनमोर्चाका तारा जिसीले संयुक्त विज्ञप्ती जारी गर्दै एमालेबाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आग्रह गरेका छन् ।
कुल ८७ सदस्य रहेको लुम्बिनी प्रदेशसभामा ८ जना घटेर अहिले ७९ सदस्य छन् । त्यसमध्ये नेकपा एमालेका ३८, नेपाली कांग्रेसका १९ जना, सभामुखसहित माओवादी केन्द्रको १८, जसपाको २ जना र राजमोको १ जना सदस्य छन् । विपक्षी गठबन्धनमा लागेका एमालेका २ जनाले राजीनामा दिइसकेका छन भने एकजनाले माओवादी केन्द्रको संसदीय दल रोजेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij