मंगलवार , चैत्र १७, २०८२
चैत्र ११ गते बुधबार विहानै पाल्पा, तिनाउको झुम्सानिर ज्यामिरेमा भेटिए हरिबहादुर रायमाझी । उनको पसलमा चिसासँगै पाउराटी डोबेर ग्वामग्वाम्ती खाइयो साथी गणेश रास्कोटी र मैले । एउटा र आधा पाउरोटीले एक गिलास चियालाई स्वात्तै सोसि पो दियो । चियामा पाउरोटी डोबेर खाने शौख सानामा अचाक्लिनै थियो ।
एकछिन हरिसँग आमखोलाको पानी र त्यसले गर्ने सिंचाईका बारेमा कुराकानी गरियो । यतिबेला ढापगैरा गाउँमा रहेको करिब एकसय रोपनी जग्गामा आमखोलाको पानीले सिंचाइ हुने रहेछ । सम्वत् २००३ सालदेखि सोही खोलाको पानी रायमाझीहरुले कुलो बनाएर खेतबारीमा सिंचाई गर्दारहेछन् भन्ने उनै हरिबहादुरबाट थाहा लाग्यो ।
आमखोलाको शिर वसन्तपुर–बाँझोवारी कर्णबहादुरको घर नजिकै रहेछ । त्यहाँबाट आउने पानीको दुईवटा मुहान रहेको उनैबाट पत्ता लाग्यो । एउटा मुहानबाट वसन्तपुरको सिद्धार्थ केवलकारका लागि पानी लैजान टंकी निर्माण भए पनि आफूहरुलाई सिंचाईमा असर पुग्ने भएको हुँदा नदिएको हरिबहादुरले जिकिर गरे । यस क्षेत्रका नागरिकहरुले सोही खोलाको पानीलाई नै पिउने गर्दा रहेछन् । गणेशको मोटरसाईकलमा चढेर तिलोत्तमा स्कूलतिर बतासियौं । पहलन्धर टोलनिर पुगेर रोकियौं । सराङखोला जानेबाटोनिर पलन्धर खोलामा फोटो खिचियो । यो खोला चैत्रमास तितिर्रे पो भेटियो । पलन्धरटोलका पाँच, सात घरकाले वर्षमास् यही खोलाको पानीले खेतमा सिंचाइ गर्दा रहेछन् ।
यमबहादुर कार्की (मोटे दाइ) हरुले भने बेलदमार खोलाको पानीले आफ्नो डुमैगाउँमा सिंचाई गर्दा रहेछन् । हुन त अहिले यो खोलामा पुल बनेपछि सत्यवती र बेरुवालगायतका गाउँ जानेहरुलाई सुविधा मिलेको छ । झुम्सा (गोरवन्दी) खोलाको पुल बनेपछि त वर्षमास पनि सत्यवती गाउँ र मन्दिर जान सजिलो भएको छ । दालचिनी राजधानीको रुपमा रहेको सत्यवती गाउँलाई यो पुल बनेपछि असाध्यै राम्रो भएको छ ।
मोटरसाईकल फनक्कै घुमाएर हामी हेकबारी खोलामा पुगेर रोकियौं । गाउँले साथीहरुले हेकबारी रहमा पुग्नका लागि बाटो बनाउन ढुंगा सोलिङ गर्दै रहेछन् । वडाबाट प्राप्त रकमले पर्यटकीय सुन्दर हेकबारी रहमा पुग्ने बाटो सहज बनाउँदा थप सुविधा मिल्नेछ । हेकबारी पुल तरेर मुन्तिर ओरालो लागेपछि फिर्फिरे गाउँ पुगियो । ९० वर्षीय गुञ्जसिंह सर्वुजामगरसँग जीवनयात्राका बारेमा थोरैबेर कुराकानी गर्यौं । र, उनकै घरतलबाट झुम्सा खोलातिर नारियौं । बुटवल लैजान थालिएको खानेपानीको ड्याम हेर्यौ ।
२० इन्चको पाइपबाट बुटवलमा पानी लैजाने कामको अन्तिम चरण पुगेको स्थानीय चन्द्रबहादुर सर्वुजाले बताए । गाउँमा चन्द्रबहादुरले पक्की घर बनाउन थालेका रहेछन् । कामदारहरु मस्तै देखिन्थे । उनको चिया पिउने आग्रहलाई तातोपानीमा साटेर उकालो लाग्यौं बेरुवातिर । राहिंला बालाई यसपालि नभेटी कुद्यौं । कुनै दिन आएर पनि नभेटेकोमा गुनासो गर्नेछन् उनले ।
बेरुवामा पुगेपछि पम्पा मगरकहाँ छिनभर गफ मार्यौं । चिया पियौं । बिहानको ११ः३० बजिसकेको थियो । पम्फा पनि भरखरै घाँस काटेर टुप्लिएकी रहेछिन् । भोकै छम् भनेपछि आफूहरुलाई पकाएको खाना पस्किन पो थालिन् । गणेश र मैले पनि भोको पेट छाम्दै खान्न भन्न पनि सकिएन । गाभा र केराको तरकारी र भाँगोको छोपसँग मैले थपिथपी पो खाना खाएँ । गणेशले लाज मानेर हो वा अघाएरै हो खाना थपेनन् । एकछिन उनका दाइ, लालुसँग हेकबारी रहका बारेमा कुराकानी गरियो ।
गर्मीयाममा यहाँ प्रशस्तै पर्यटकहरु आउने गरेको उनले बताए । हामीले पनि त्यस रहभित्र ढलेको रुख हटाउनुपर्ने, बियरका बोत्तल, चाउचाउ र बिस्कुटका खोलहरु पन्छाउनुपर्नेमा जोड दियौं । बाँसको डोको डस्टबीनका रुपमा रहे पनि कुहिएर गएको कारण फोहोर फाल्ने स्थानको अभाव हामी सबैले महसुस गरेका थियौं । हेकबारी रहको उचित व्यवस्थापन गर्न सकिएमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने र स्थानीयहरुलाई रोजगारी मिल्न सक्ने देखियो ।
हेक भनेको मगरभाषामा पिंडालु हो भनेर गणेशले अर्थाए । साथै पम्फाको घर नजिकै रहेको गाङ् डी खोला अर्थात् मगर भाषामा चिसो पानी रहेको खोला अर्थ लाग्दो रहेछ । सो खोलामा हिउँद वा वर्षात् जहिले नि पानी पाइने रहेछ । सोही खोलाको किनारमा एउटा पानी टंकी बनाइएको रहेछ । तर, प्रयोगबिहीन देख्दा नरमाइलो लाग्यो । मूलमै पाइप झोसेर पानी घरघरमा लैजाने चलनले मूलमै समस्या आउने र पानीटंकी समेत प्रयोगबिहीन देखिन्छ ।
१२ः३० मा बेरुवाबाट ग्राबेल बाटो देउराली, डान्सिङकोटतिर उक्लियौं । जंगबहादुर क्षेत्री सरसँग सामयिक राजनीतिका बारेमा छलफल गर्यौं । उनले आफ्नो राजनीतिक यात्रा बारेमा जानकारी गराए । गाउँमा रहेका २६ घरकाले देउराली ठूलो पँधेरोको पानी पिउने रहेछन् । २०६७ सालतिर उनीहरुले दुईवटा पानी टंकी बनाएर पिउने पानी, लुगा धुन र गाईवस्तुहरुलाई खुवाउने पानीका लागि प्रबन्ध गरेका रहेछन् । पानीको मुहान हेरियो । चैत्रमास पनि ठूलै रहेछ । उनकी जेठी छोरी देउकलाले चियाको साटोमा दूध पिलाइन् ।
उनीहरुसँग बिदा मागेर झ्याण्टुङ्ग गाउँमा शेरबहादुर क्षेत्रीकहाँ पुगियो । सोही गाउँको झ्याण्टुङ्ग गैराबाट एकदर्जन घरले पानी पिउने रहेछन् । २०४६ सालमा बहुदल आउनुअघि उनी बाग्लुङ्गबाट आएका रहेछन् । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनी साविक दोभान गाविसको अध्यक्षमा चुनाव लडेका थिए । तीनसय मत ल्याएर उपविजेता हुने अवसर पाएका थिए । उनको पालामा लक्ष्मण थापाले गाविस अध्यक्षको चुनाव जितेका थिए । शेरबहादुरकी श्रीमती छुमाले चिया पिलाइन् । मुख मिठो बनाएर भट्भटेमा चढेर माथागढीको पुरनपानी पुगेर ओरालियौं ।
माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामी र कार्यपालिका सदस्य रुकुमी सुनारीसँग माथागढीभित्र बग्ने खोला नालाका बारेमा गफ गरेका थियौं । पानी पुनर्भरणका लागि पालिकाले गरेको प्रयास र पानीको प्रयोगका बारेमा उनीहरुसँग करिब आधाघण्टा मस्त कुराकानी गर्दैगर्दा चिया र मःम समेत तुर्यौैं ।
गोठादी खोला, मरमरा खोला, खापुक खोला, धामिगा खोला, झडेवा खोला मिलेर नै झुम्सा खोला बन्ने कुरा उनै शंकरबाट थाहा लाग्यो । उनले झुम्सा खोलाको मुहान डल्ले रह समेत देखाए । सोही रहमा फकेटा, बुदुना, भोटी माछा समेत पाइने रहेछ । काँडा कम भएको सेंगी माछा भने डल्ले रहबाट बिलीन भएको उनले सुनाए । असारमास धान रोप्नेबेला झडेवा फाँटमा माछा समाउने मेला रातभर लाग्ने कुरो रुकुमीले सुनाइन् ।
गणबासमा जलाशय बनाएर डुंगा चलाउने पालिकाको योजना सुनाउँदै थिए शंकरले । त्यसो हुन सकेमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने छ । झुम्सा खोलाबाट दुई स्थानमा लघु–जविद्युत उत्पादन भएको रहेछ । गाउँ उज्यालो बनाउन सोही पावर हाउसको विद्युतले सहयोग गरेको अवलोकनबाट थाहा लाग्यो ।
घामले बिदा माग्दै गर्दा हामीले पनि माथागढीको झडेवाबाट बिदा लियौं । गणेशको मोटरसाईकलल देउगिरमा काफल किन्न रोकियो । तीन माना काफल किनेर रेलको रफ्तारमा तिनाउको चरचर्रेमा पुग्दा साँझको ७ बजिसकेको थियो । गणेश उतै राोकिए । म भने इभीमा चढेर बुटवल झरें ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij