२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

सामाजिक क्षेत्रबाट संसदको यात्रामा ज्ञानु पौडेल

बुधवार , चैत्र २५, २०८२

  • 601
    Shares
  • 601
    Shares
  • भैरहवा, २५ चैत । सामाजिक क्षेत्रमा एक परिचित नाम हो ज्ञानु पौडेल । सामाजिक कार्यमा सक्रिय पौडेलको अब संसदीय यात्रा सुरु भएको छ । सामाजिक कार्यमा निरन्तर क्रियाशील पौडेल अब नीति–नियम निर्माण गर्ने स्थानमा पुग्न सफल हुनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । सामाजिक क्षेत्र, महिला सशक्तीकरण र सहकारी क्षेत्रमा विगत लामो समयदेखि सक्रिय ज्ञानु पौडेलले पहिलोपटक संघीय संसद्मा प्रवेश गर्नुभएको छ ।

    सामाजिक तथा सहकारी क्षेत्रमा विगत तीन दशकदेखि क्रियाशील पौडेल एक वर्षअघि रास्वपामा आबद्ध हुनुभएको थियो । महिला उद्यमशीलता प्रवर्द्धन,, स्थानीय उत्पादनको बजारीकरण तथा समुदायमा सामाजिक अभियान सञ्चालनमा सक्रिय रहँदै उहाँ राजनीतिक यात्रामा जोडिनुभएको थियो ।

    रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएपछि यस क्षेत्रमा उपनिर्वाचनको मिति तोकिएको थियो ।

    उपनिर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारका लागि पार्टीको प्रारम्भिक निर्वाचनमा समावेश भएपश्चात उहाँको राजनीतिक यात्राको सुरुवात भएको थियो । तर, संसद् विघटनपश्चात सरकारले नयाँ निर्वाचनको मिति घोषणा गरेपछि भने उपनिर्वाचन स्थगित भयो ।

    ०८२ मा प्रतिनिधि सभा सदस्यको निर्वाचनको क्रममा समानुपातिक उम्मेदवारका लागि रास्वपाले आह्वान गरेको प्रारम्भिक निर्वाचनमा समावेश भइ ४३० जनामध्ये आफ्नो ज्ञान, दक्षता र सीप प्रदर्शन गरी छनौट प्रक्रियामार्फत खस–आर्य कलस्टरको बन्दसूचीमा पौडेल पर्न सफल हुनुभएको थियो । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । 

    उहाँको थुप्रै सामाजिक संघ–संस्थाहरुमा काम गरेको अनुभव छ । पौडेलले जिल्ला स्थानीय शान्ति समिति रुपन्देहीको संयोजक, नमूना एकीकृत विकास परिषद्, भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ,  लुम्बिनी विशिष्टीकृत सहकारी संघ, महिला तथा बाल बालिका अधिकार जिल्ला संजाल, लैंगिक हिंसा जिल्ला समन्वय समिति, महिला तथा बालबालिका कार्यालय, जिल्ला बालकल्याण समिति, बाल गृह अनुगमन समिति, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् १३२५ र १८२० सम्बन्धि राष्ट्रिय कार्ययोजना कार्यान्वयन जिल्ला समन्वय समिति, बालबालिका बेचबिखन तथा यौन शोषणविरुद्धको संजाल (एटसेक) दक्षिण एसिया नेटवर्क नेपाल च्यापटर, लुम्बिनी प्रदेशस्तरीय बाल अधिकार समिति लगायत विभिन्न संस्थाको नेतृत्व तथा आबद्ध भइ काम गरिसक्नुभएको छ ।

    कठिन परिस्थितिमा जोखिम मोलेर पनि उहाँले सामाजिक क्षेत्रमा योगदान पुर्याउनुभएको छ । पौडेलले नेतृत्व गर्नुभएको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीमा कृषि एम्बुलेन्स सञ्चालन गरी स्थानीय किसानबबाट उत्पादित तरकारी सुलभ मूल्यमा घरघरमा पुगेर उपभोक्तासमक्ष पुर्याइएको थियो । 
    सामाजिक तथा सहकारी क्षेत्रमा योगदान पुर्याउनुभएकी पौड्यालले विभिन्न पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

    उहाँ सुप्रबल जनसेवा श्री मानपदवी (२०७९) नेपाल सरकारबाट घोषित, जनसेवा मानपदवी पुरस्कार (२०७३)–राष्ट्रपति विद्यादेवी भण्डारीबाट, वि.सं. २०७६ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेप्स्कून) ३२ औं स्थापना दिवसको अवसरमा उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार, वि.सं. २०७३ मा नेपाली सेनाको बार्षिकोत्सव समारोहमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीबाट राष्ट्रसेवामा समर्पित भएर सामाजिक क्षेत्रमा लामो योगदानको कदर स्वरुप सम्मान–पत्र प्राप्त गर्नुभएको थियो ।

    त्यस्तै वि.सं. २०७९ असारमा सशस्त्र प्रहरी परिवार महिला संघबाट लैगिक हिंसा न्यूनीकरण, महिला सशक्तिकरण, सुरक्षित मातृत्व, एकल महिला उत्थान, यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकार संरक्षण तथा प्रवद्र्धनमा पुर्याएको योगदानका लागि कदर–पत्र, वि.सं. २०७३ मा दक्षिण एशियाकी प्रख्यात महिलावादी नेता कमला भसिनद्वारा महिला अधिकार, लैंगिक समानता र सशक्तिकरणको क्षेत्रमा पुर्याएको योगदानवापत पुरस्कार प्राप्त गर्नुभएको थियो । 
    त्यसै गरी वि.सं. २०७६ मा सामाजिक सेवा पुरस्कार (गैरसरकारी संस्था जिल्ला शाखा रुपन्देही), इन्हरव्हील क्लब, बुटवल, जिल्लाका विभिन्न कार्यालय एवं संस्थाहरुबाट कदर–पत्रहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थानीय शान्ति समिति, कर्महवा स्वास्थ्य चौकी, असुरैना २४ घण्टे प्रसूति केन्द्र, सिद्धार्थनगर तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट पुरस्कृत एवं सम्मानित भइसक्नुभएको छ । यसबाहेक पनि उहाँ विभिन्न सामाजिक संस्था र सरकारी स्वास्थ्य संस्थाहरुबाट प्राप्त गर्न सफल हुनुभएको छ । 

    ‘रुपन्देही जिल्लामा विगत लामो समयदेखि सामाजिक, सहकारी क्षेत्रमा काम गरेर अनुभव बटुलेको छु, यहाँका जनतासँग एकदमै जोडिएर काम गरेकाले यहाँका आवश्यकता र मुद्दाबारे मलाई थाहा छ, ’सांसद पौडलले भन्नुभयो । आफ्नो अनुभवलाई संगालेर स्थानीय मुद्दालाई राष्ट्रियकरणका लागि नीति बनाउन सकियो भने जनताका लागि काम गर्न सकिने उहाँको धारणा छ ।

    ‘मैले जनतासँग प्रत्यक्ष जोडिएर काम गरेको छु, पछाडी परेका समुदायलाई कसरी अगाडि ल्याउन सकिन्छ भन्नेतर्फ नै मेरो ध्यान हुनेछ, ’उहाँलेले भन्नुभन्यो ।