२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

यौनजन्य हिंसाका घटना बढ्दै गएकोप्रति लुम्बिनी प्रदेश सभा सदस्य के.सी.को चिन्ता

बुधवार , चैत्र २५, २०८२

  • 436
    Shares
  • 436
    Shares
  • भैरहवा, २५ चैत । लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.) ले लुम्बिनी प्रदेशमा यौनजन्य हिंसाका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले पीडितको संरक्षणका लागि विशेष कोष स्थापना गर्न माग गर्नुभयो ।

    प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सभा सदस्य के.सी.ले प्रदेशमा बढ्दो बलात्कार तथा यौन हिंसाका घटनाले सुशासन, सुरक्षा र मानवतामाथि प्रश्न खडा गरेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो तथ्यांकले लुम्बिनी प्रदेशमा वार्षिक ४ सय ५० देखि ५ सय सम्म जबरजस्ती करणीका मुद्दा दर्ता हुने गरेका छन् । अझै चिन्ताजनक तथ्य भनेको तीमध्ये ६० प्रतिशतभन्दा बढी पीडित १८ वर्षमुनीका बालबालिका रहेका छन् । ‘समृद्ध प्रदेश बनाउने हाम्रो परिकल्पनामा नानीबाबु नै असुरक्षित हुनु अत्यन्त दुःखद अवस्था हो, ’उहाँले भन्नुभयो ।

    घटनाको प्रकृतिबारे बोल्दै उहाँले करिब ८० प्रतिशत घटनामा पीडितकै चिनेजानेका व्यक्ति संलग्न हुने गरेको उल्लेख गर्नुभयोे । यसले समाजभित्रै गम्भीर समस्या रहेको संकेत गर्ने भन्दै गाउँ–समाजमा मिलापत्रका नाममा अपराध लुकाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । पीडितको संरक्षणका लागि विशेष कोष स्थापना गर्न माग गर्नुभयो ।

    उहाँले सांसदले न्याय प्रणालीको कमजोरीतर्फ पनि ध्यानाकर्षण गराउँदै प्रमाण अभावका कारण अपराधी उम्किने र पीडितले न्याय नपाउने अवस्था रहेको बताउनुभयो । केसीले प्रमाण संकलनलाई प्रभावकारी बनाउन लुम्बिनी प्रदेशमै उच्चस्तरीय फरेन्सिक ल्याब स्थापना गर्नुपर्ने आवश्यकता रहेको समेत बताउनुभयो ।

    उहाँले प्रदेश सरकारसमक्ष केही महत्वपूर्ण मागहरू पनि पनि राख्नुभएको छ जसअन्तर्गत बलात्कारका घटनामा ‘शून्य सहनशीलता’ नीति अवलम्बन, पीडितका लागि तत्काल उपचार तथा कानूनी सहयोग, दीर्घकालीन पुनःस्थापनाका कार्यक्रम सञ्चालन, विद्यालय तहदेखि ‘गुड टच–ब्याड टच’ सम्बन्धी शिक्षा अनिवार्य गर्ने र उच्चस्तरीय अनुगमन समिति गठन गर्ने प्रस्ताव समावेश छन् ।

    प्रदेश सभा सदस्य के.सी.ले कानून मात्र पर्याप्त नहुने भन्दै समाजको सोच परिवर्तन आवश्यक रहेको बताउनुभयो । ‘लुम्बिनी प्रदेशलाई बुद्धको शान्तिको भूमि मात्र होइन, महिला र बालबालिकाका लागि सुरक्षित प्रदेश बनाउन हामी सबै प्रतिबद्ध हुनुपर्छ,’ उहाँले भन्नुभयो ।