२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

बिटुमिन अभावले निर्माणाधिन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकियो

शुक्रवार , चैत्र २७, २०८२

  • 364
    Shares
  • 364
    Shares
  • काठमाडौं, २७ चैत । सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधिन नागढुङ्गा–मुग्लिङ सडकको काम रोकिएको छ । 

    निर्माणको मुख्य सिजनमा मध्य पूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नु परेको निर्माण कम्पनी ज्याङ्सु सगुन जे.भीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिनुभयो । बिटुमिन सप्लाई गर्ने सप्लायरहरुले वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय बजारमा बिटुमिनको चरम अभाव भएको भन्दै अर्डर क्यान्सिल गरिहरको घिमिरे बताउनु हुन्छ ।

    निर्माणको अन्तिम चरणमा रहेको  नागढुंगा नौबिसे खण्डको ६ किलोमिटर फाइनल कालोपत्रे सम्पन्न भइसकेको छ । बाँकी ६ किलोमिटर सडक तेस्रो तहको फाइनल पिच गर्दा गर्दै रोकिएको घिमिरे बताउनु हुन्छ ।

    कुल १२ दशमलव २ किलोमिटर रहेको नागढुङ्गा–नौबिसे सडकमा ६ किलोमिटर सडक फाइनल कालोपत्र गर्न करिव ५ सय ३० टन बिटुमिन आवश्यक रहेको घिमिरेले बताउनु भयो । तत्काल आवश्यक बिटुमिन उपलब्ध भए १० दिन भित्र नागढुङ्गा–नौबिसे सडक खण्डको फाइनल कालोपत्र सम्पन्न हुने घिमिरेले जानकारी दिनुभयो । 

    निर्माण व्यवसायीहरुले बिटुमिन अभावले आयोजनाको कालोपत्रको काम अघि बढाउन नसक्ने जानकारी सरकारी पक्षलाई गराइसकेको नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशव ओझा बताउनु हुन्छ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थमा लगाएको कोटा प्रणालीका कारण आयोजनामा प्रयोग हुने यन्त्र उपकरण सञ्चालन गर्न पर्याप्त डिजेल पेट्रोल पम्पहरुबाट उपलब्ध हुन नसकेको ओझाले बताउनु भयो । 

    नागढुङ्गा–नौबिसे सडकखण्डको हालसम्मको भौतिक प्रगती ८८, र वित्तिया प्रगती ८२ प्रतिशत रहेको छ । बजारमा देखिएको पेट्रोलियम पदार्थको अभाव प्रत्यक्ष रुपमा आयोजना देखिएको छ । त्रिभुवन राजपथ क्षेत्रमा पर्ने यो सडक विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको हो ।