२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

विजयनगरका विकास योजना अघि बढाउन ज्ञापनपत्र पेश

मंगलवार , बैशाख १, २०८३

  • 370
    Shares
  • 370
    Shares
  • कपिलवस्तु, १ वैशाख । कपिलवस्तुको विजयनगर गाउँपालिकाले समग्र विकास र पूर्वाधार विस्तारका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष महत्वपूर्ण योजनासहित ज्ञापनपत्र पेश गरेको छ ।

    नयाँ वर्ष २०८३ को अवसरमा गाउँपालिकाको भ्रमणमा रहनुभएका मुख्यमन्त्री आचार्यलाई गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको हो । 

    सो अवसरमा गाउँपालिकाले सडक, सिंचाई, नदी नियन्त्रण, शिक्षा तथा पर्यटकीय विकाससँग सम्बन्धित विभिन्न योजनाहरू प्राथमिकताका साथ अघि बढाउन माग गरेको छ ।

    ज्ञापनपत्रमा शिवराज नगरपालिका सुरही पुलदेखि विजयनगर गाउँपालिका हुँदै कृष्णनगर नगरपालिका झिंगाहा जोड्ने १२ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । यस सडकलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने महत्वपूर्ण सहायक मार्गका रूपमा उल्लेख गरिएको छ ।

    यसैगरी शंकरपुर ताल पुनर्निर्माण, सुरही तथा अर्रा नदीको कटान नियन्त्रण, कृषियोग्य भूमिमा सिंचाई विस्तार, विद्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा विभिन्न स्थानमा कल्भर्ट निर्माण लगायतका योजनाहरू पनि समेटिएका छन् ।

    कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रस्तुत गरिएका योजनाहरूलाई गम्भीरतापूर्वक लिएको बताउँदै आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा विशेष गरी सडक योजनालाई समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उक्त सडकलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने स्पष्ट पार्नुभयो ।

    मुख्यमन्त्री आचार्यले सडकको स्थलगत अनुगमन समेत गरिसकेको उल्लेख गर्दै यसलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्ने बताउनुभयो । उहाँले स्थानीय विकासका लागि आवश्यक सहकार्य र समन्वयमा प्रदेश सरकार सधै प्रतिबद्ध रहने धारणा व्यक्त गर्नुभयो ।