२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

तिलोत्तमामा छाडा कुकुर बन्ध्याकरण अभियान

बुधवार , बैशाख २, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाएको छ । नगरभित्र छाडा रुपमा रहेका सामुदायिक कुकुरहरुको संख्या न्यूनीकरण गर्नका लागि नगरपालिकाले कुकुरहरुको बन्ध्याकरण गर्ने कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाएको हो । 

    छाडा कुकुरको संख्यामा कमी ल्याउन तथा सन् २०३० सम्म रेबिजलाई शुन्यमा झार्नका लागि रेबिजविरुद्धको खोप र बन्ध्याकरण कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । कुकुरको प्रजनन क्षमतालाई स्थायी रूपमा रोक्ने प्रक्रियालाई बन्ध्याकरण भनिन्छ । यो भाले र पोथी कुकुरमा फरक विधिबाट गरिने चिकित्सकहरुले जनाएका छन् । भाले कुकुरमा ‘न्यूटर’ र पोथी कुकुरमा ‘स्पे’ विधिबाट गरिने पशु चिकित्सकको भनाइ छ । 

    kukur.png

    नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि विभिन्न संघ–संस्थाको सहयोगमा कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको भ्याक्सिनेसन कार्यक्रमलाई हालसम्म अभियानको रुपमा निरन्तरता दिइएको नगरपालिकाका पशु स्वास्थ्य शाखाका प्रमुख राजु कुंवरले जानकारी दिनुभयो । छाडा कुकुरहरुबाट रेबिजजन्य संक्रामक रोगहरु बढेपछि त्यसको निदानका लागि भ्याक्सिनेसन शिविर समेत सञ्चालन गरिएको शाखा प्रमुख कुंवरको भनाइ छ । 

    नगरपालिकाले २०७८/०७९ मा पक्लिहवा क्याम्पसका बिद्यार्थीहरुको सहकार्यमा वडा नम्बर ४ मा ४० बटा कुकुर बन्ध्याकरण गरेको जनाएको छ । त्यस्तै २०७९/०८० मा १२० वटा कुकुरको बन्ध्याकरण गरिएको छ । उक्त कार्यक्रमका लागि नगरपालिकाले २ लाख र वडा नम्बर ६ ले १ लाख बजेट खर्च गरेको थियो । 

    नगरपालिकाका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा ३ सय २ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । हिमालयन रेस्क्यु ट्रष्ट, भेटेनरी अस्पताल तथा विज्ञ केन्द्र भैरहवाको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो । ४ लाख बजेट खर्च गरिएको उक्त कार्यक्रममा लक्ष्य अनुरुप काम गरिएको नगरपालिकाले जनाएको छ । 

    हिमालयन रेस्क्यु ट्रष्टको सहकार्यमा भएको बन्ध्याकरण शिविरमा आर्थिक वर्ष २०८१/०८२ मा २५५ वटा कुकुरको बन्ध्याकरण गरिएको शाखा प्रमुख कुंवरले जानकारी दिनुभयो । उहाका अनुसार चैत ८ देखि १३ गतेसम्म वडा नम्बर ६ भित्र रहेका ५० र अन्य वडाका २०० कुकुर बन्ध्याकरण गर्ने लक्ष्य लिइएकोमा २५५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । 

    आर्थिक बर्ष २०८२/०८३ मा २०५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । रेविज रोग बिरुद्धको भ्याक्सिन कार्यक्रम अन्तरगत बिश्व रेविज दिवसको असोज ५ गतेदेखि १२ गते सम्म २४० वटा घरपालुका कुकुर र ३४४ वटा सामुदायिक कुकुर गरी ५८४ कुकुरलाई रेविज बिरुद्धको खोप लगाईएको छ । 

    नगरपालिकाले भालेपोथी दुवै जातका कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोप समेत लगाइएको थियो । छाडा कुकुरलाई समात्ने, स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य अवस्था ठीक भएकालाई सर्जरी गरी पुनः समातेकै ठाउँमा लगेर छाडिने गरिएको छ ।  

    सामुदायिक कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने, सडक दुर्घटना बढ्ने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा बढेपछि नगरपालिकाले त्यसको न्यूनीकरणका लागि अभियान चलाएको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो। नगरप्रमुख खाणका अनुसार कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोपपछि कुकुरको टोकाईबाट हुने संक्रमणमा कमी आएको बताउनुभयो । नगरले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने तिलोत्तमा नगरप्रमुख खाणले बताउनुभयो। यसअघिको नेतृत्वले समेत कुकुरको बन्ध्याकरण कार्यक्रमलाई नीति तथा कार्यक्रममै समेटेर कार्यक्रम गरेको थियो । 

    नगर उपप्रमुख जगेश्वर देवी चौधरीले नगरक्षेत्रमा धेरै संख्यामा सामुदायिक कुकुर रहेकाले त्यसको नियन्त्रणको लागि सामुदायिक कुकुरलाई रेबिजविरुद्धको सुई साथै स्थायी बन्ध्याकरण आवश्यक रहेको हुँदा पालिकाले अभियानको रुपमा कार्यक्रम चलाइएको बताउनु भयो । कुकुरको उचित व्यवस्थापन र सुरक्षाको दृष्टिकोणले कुकुर र मानिसको स्वास्थ्यलाई ख्याल राख्दै आगामी दिनमा पनि कुकुरको बन्ध्याकरणलाई निरन्तरता दिइरहनुपर्ने उहाँको भनाइ छ । 

    ‘सामुदायिक कुकुरको आतंकका कारण मानिसमा त्रास रहेको समेत देखियो, मानिसमा देखिएको त्रास हटाउन र कुकुर आतंक नियन्त्रणका लागि बन्ध्याकरण नै एकमात्र विकल्प हो’– नगर उपप्रमुख चौधरीले भन्नुभयो ।  सामुदायिक कुकुरको बन्ध्याकरणले समाज, मानव स्वास्थ्य र पशु कल्याण तीनै क्षेत्रमा सकारात्मक प्रभाव पारेको पालिकाको ठम्याई छ । 

    ‘कुकुरको बन्ध्याकरणपछि कुकुरको संख्या नियन्त्रणमा आउँछ । बन्ध्याकरणले अनावश्यक रूपमा कुकुरको प्रजनन रोक्छ, जसले गर्दा सडकमा कुकुरहरूको संख्या बढ्न पाउँदैन र सवारी दुर्घटनामा पनि कमी आउंछ’–नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले भन्नुभयो–‘यसले रेबिज जस्ता रोग पनि कम हुन्छ , समाजमा सुरक्षाको महसुस हुन्छ, र कुकुरले मानिसहरूलाई टोक्ने सम्भावना पनि घट्छ भने पशु कल्याणमा सुधार आउँछ ।’  नगरपालिकाले रेविज बिरुद्धको खोप लगाउनुका साथै बन्ध्याकरण गर्ने गरेपनि कतिपय घरधनीले आधा दर्जन बढी कुकुर पालेर आतंक मच्चाएको गुनासो  छ । नगरपालिकाले आबश्यकता भन्दा बढी कुकुर पाल्नेहरुलाई कार्वाही गर्नु पर्ने स्थानियको माग रहेको छ ।