२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

रेडक्रस रुपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

मंगलवार , बैशाख ८, २०८३

  • 568
    Shares
  • 568
    Shares
  • भैरहवा, ८ वैशाख । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा, भैरहवाले नव वर्ष २०८३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

    सोमबार भैरहवामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईले भित्तेपात्रो (क्यालेण्डर) मार्फत संस्थाका गतिविधिबारे पनि जानकारी पाउन सकिने बताउनुभयो । उहाँले रेडक्रसप्रति जनतामा रहेको विश्वास कायम रहने अपेक्षा गर्नुभयो । 

    त्यस्तै रेडक्रस रुपन्देहीका सभापति रामचन्द्र उपाध्यायले नयाँ वर्षले सबैमा काम गर्ने हुटहुटी पैदा होस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । उहाँले रेडक्रसले विभिन्न कार्यक्रमहरु अघि बढाएको बताउनुभयो । 

    नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय अध्यक्ष सुदर्शन प्रसाद नेपालले नयाँ वर्षसँगै कार्यशैली र सोचाईमा पनि परिवर्तन आवश्यक रहेकोमा जोड दिनुभयो । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले नयाँ वर्षमा नयाँ संकल्पका साथ अघि बढ्नुपर्ने बताउनुभयो । ‘पात्रोको पाना फेर्नु मात्र नयाँ वर्ष होइन, यो त विगतका गल्तीहरुबाट सिक्ने र भविष्यका लागि नयाँ गोरेटो कोर्ने एउटा सुन्दर अवसर पनि हो, ’उहाँले भन्नुभयो ।

    चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को महासचिव लक्ष्मी अधिकारीले नयाँ वर्षमा मुलुकमा स्थिरता कामय हुने विश्वास व्यक्त गर्नुभयो ।

    रेडक्रस रुपन्देहीका निवर्तमान सभापति दीपक क्षेत्री न्यौपानेले कर्मचारीले १५–१५ दिनमा तलब पाउने कुरा खुसीकोे कि दुःखको कुरा हो भन्दै प्रश्न गर्नुभयो ।

    रेडक्रस सिद्धार्थनगर नगरपालिकाको तदर्थ समितिका संयोजक राजेश जि.सी.ले आगामी वर्षमा पनि भित्तेपात्रो प्रकाशनलाई निरन्तरता दिनुुपर्नेमा जोड दिनुभयो ।

    रेडक्रस रुपन्देहीका जिल्ला सदस्य तथा क्यालेण्डर प्रकाशन समिति संयोजक संजीव शर्मा रेग्मीको स्वागत तथा जिल्ला उपसभापति रुपमा कुमारी हिराचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा जिल्ला सदस्य केशव कुमार उपाध्यायले रेडक्रसका सात सिद्वान्त वाचन गर्नुभएको थियो ।