शुक्रवार , बैशाख ११, २०८३
भैरहवा, ११ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले बिहीबारदेखि वृहत् फोहोरमैला व्यवस्थापन कार्यक्रम (अभियान)–२०८३ सुरु गरेको छ । फुलबारी सेवा समाज एवं मुक्तिधाम घाट व्यवस्थापन समिति सि.न.पा.–४ को सहयोगमा कार्यक्रम सुरु भएको हो ।
वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) का अनुसार सिद्धार्थनगर–४ मा आइतबार र बुधबार नगरपालिकाले ट्याक्टर पठाएर फोहोरमैला संकलन भइरहेको थियो । यो अभियान अहिले रोकिदा वडाबासीलाई समस्या भएको अनुभुति भएपछि अभियान सञ्चालन गरिएको यादवले बताउनुभयो । बुधबार (हिजो) विभिन्न संघ–संस्था र वडाबासीहरुको सहभागीतामा आकस्मिक बैठक बसी यस्तो अभियान सञ्चालन गर्ने निष्कर्षमा पुगेका थियौं ’उहाँले भन्नुभयो ।
‘हाम्रो वडा, राम्रो वडा, हाम्रो वडा हामी बनाउँछौं, हामी सफा गर्छौ’ भन्ने नारालाई आत्मसात गर्दै अभियान सुरु गरिएको उहाँले बताउनुभयो । ‘फोहोरबाट मोहर निकाल्छौं । यसका लागि दुईवटा कर्मचारी पनि राखिएको छ । कर्मचारीको पारिश्रमिक पनि फोहोरबाट मोहर बनाएर आउने आम्दानीबाट उपलब्ध गराइनेछ, ’उहाँले भन्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडाअध्यक्ष यादवले अभियानका क्रममा टोलटोलमा पुगेर वडाबासीलाई सचेत गराउन माईकिङ समेत गरिएको जानकारी दिनुभयो ।
सडकमा जथाभावी फोहोर फाल्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरिने उहाँले बताउनुभयो । त्यस्तै जथाभावी फोहोर फाल्नेको तस्वीर वा कुनै प्रमाण उपलब्ध गराउने व्यक्तिलाई १ हजार रुपैयाँबाट पुरस्कृत समेत गरिने उहाँले जानकारी दिनुभयो । उहाँले कुहिने र नकुहिने फोहोर वर्गीकरण नगरिए फोहोर नउठाउने स्पष्ट पार्नुभयो ।

त्यस्तै फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङले नगरपालिकाले केही दिनदेखि फोहोर उठाउन छोडेपछि वडा नम्बर ४ मा फोहोरमैला व्यवस्थापन कार्यक्रम सुरु भएको बताउनुभयो । ‘कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्ने अभियानमा लागेको छौं । वडाको फोहोर वडामै व्यवस्थापन गर्ने लक्ष्यका साथ अघि बढेका छौं, ’उहाँले भन्नुभयो । यो अभियानमा सिद्धार्थनगर नगरपालिकाले पनि सहयोग गर्ने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
