२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

तिलोत्तमाद्वारा बजेट र नीतिमा दलित समुदायलाई प्राथमिकता

शुक्रवार , बैशाख ११, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • रुपन्देही, ११ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दलित समुदायको सशक्तिकरणका लागि बजेट कार्यक्रम र नीतिगत रुपमा काम गरेको जनाएको छ । जागरण मिडिया सेन्टरले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा ‘विभेदमुक्त नगर : समानतायुक्त नगर’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यले कार्यक्रम गरेको बताएका हुन् ।

    उक्त अवसरमा तिलोत्तमा नगरपालिकाका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले आफूहरुले तिलोत्तमा नगरपालिकालाई मानव मर्यादाको नगरपालिकाका रुपमा स्थापित गर्ने गरी काम गरेको बताउनुभयो । उहाँले दलितमैत्री नगरपालिका बनाउने उद्देश्यले समुदायको उत्थान, सीप विकास तथा अधिकार समेत सशक्तिकरण गर्ने गरी कार्यक्रम गरेको बताउनुभयो । नीति कार्यक्रममै दलित समुदायलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै दलित समुदायको रणनीतिक विकास योजना, दलित पाश्वचित्र तथा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कानूनहरु प्रकाशन गरेको उहाँले बताउनुभयो ।

    त्यस्तै तिलोत्तमा नगरपालिका–६ का वडाअध्यक्ष गणेश पाठकले दलित समुदायमाथि ठूलो विभेद र अन्याय भएको भन्दै स्रोतसाधनको अभावका कारण उल्लेख्य काम गर्न नसकेको बताउनुभउो । आर्थिक विकास समिति संयोजक समेत रहनुभएका पाठकले दलित समुदाय पछाडि शिक्षा र आर्थिक गरीबीका कारण परेको बताउँदै अब ठोस कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी आर्थिक बर्षको बजेटमा दलित समुदायलाई परिवर्तन गराउन सक्ने गरी बजेट बिनियोजन गर्ने बताउनुभयो ।

    उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले भौतिक विकाससँगै मानवीय विकासका कामलाई तिलोत्तमामा नीतिगत रुपमा अगाडि बढाएको बताउनुभयो । उहाँले पेशागत सामाग्रीमा अनुदान, छुवाछुतविरुद्ध कानुनी सचेतनादेखि नेपालमै पहिलोपटक स्थानीय सरकारको अगुवाइमा दलित ज्ञान उत्सव गरेको बताउनुभयो । उहाँले दलित समुदाय, महिला र सिमान्तकृत समुदायको पक्षमा बजेट, नीति र कार्यक्रममार्फत समेटेको बताउनुभयो ।

    जागरण मिडिया सेन्टरका महासचिव जगलाल नेपालीले तिलोत्तमाले दलित तथा सिमान्तकृत समुदायको पक्षमा बजेट कार्यक्रम र कानूनी रुपमा समेत सकारात्मक काम गरेको बताउनुभयो । उहाँले आगामी बजेटमा समुदायको आवश्यकता बुझेर काम गर्र्नुपर्नेमा जोड दिनुभयो ।

    WhatsApp Image 2026-04-24 at 17.31.07.jpeg

    जनप्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागीता रहेको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य सञ्जय विश्वकर्मा, जिल्ला अध्यक्ष टंक सुनार,  फूलु सुनार लगायतले छुवाछुत अन्त्यका लागि प्रभावकारी र समुदायकेन्द्रीत कार्यक्रम गर्न सुझाव दिनुभयो ।