२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

कपिलवस्तु–३ का योजना खोज्दै सांसद पुनम अग्रवाल

सोमवार , बैशाख १४, २०८३

  • 244
    Shares
  • 244
    Shares
  • कपिलवस्तु, १४ वैशाख । प्रतिनिधि सभा सदस्य पुनम कुमारी अग्रवालले कपिलवस्तु क्षेत्र नम्बर ३ मा पुगेर क्षेत्रगत समस्याबारे जानकारी लिनुभएको छ । सो क्षेत्रको कृष्णनगर नगरपालिकामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले जनप्रतिनिधि, सुरक्षा अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय बासिन्दाहरुसँग भलाकुसारी गर्दै क्षेत्रगत समस्याबारे जानकारी लिनुभएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रवाललाई कपिलवस्तु–३ मा हेर्ने गरी जिम्मेवारी तोकेको छ । पार्टीको जिम्मेवारी लिएपछि क्षेत्रमा पुग्नुभएकी अग्रवालले दिनभर स्थानीयहरुसँग राय–सुझाव माग समेत गर्नुभएको थियो । सो क्रममा सुरक्षा अधिकारीहरुले क्षेत्रगत र समग्र जिल्लाको शान्ति सुरक्षाका बारे जानकारी गराएका थिए । त्यस्तै स्थानीय तहका जनप्रतिनिधिले क्षेत्रमा गर्नुपर्ने योजनाबारे सांसद अग्रवाललाई अवगत गराएका थिए ।

    सांसद अग्रवालले सरकारको मुख्य उद्देश्य नै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने र जनचाहना अनुसार विकास गर्ने रहेको बताउनुभयो । उहाँले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासका क्षेत्रमा स्थानीयले उठाएका विषयहरु आफूले टिपोट गरेको जनाउँदै विस्तारै ती समस्या समाधानमा पहल गर्ने बताउनुभयो ।

    सीमा क्षेत्रबाट हुने अवैध कार्यलाई निस्तेज पार्नुपर्ने जनाउँदै सांसद अग्रवालले सरकारको स्प्रीट अनुसार प्रदेश र स्थानीय तहसँगै सबै कर्मचारीहरुले काम गर्नुपर्नेमा जोड दिनुभयो । रास्वपाले दलका आधारमा कसैलाई काखा र कसैलाई पाखा नगराउने जनाउँदै आफूहरुको उद्देश्य नै सुखी नेपाली र समृद्ध नेपाल रहेको बताउनुभयो ।

    कुनै पनि कार्यालयमा सेवाग्राहीलाई दुःख दिने काम गर्न नहुने जनाउँदै अग्रवालले यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । आफूले क्षेत्रगत विकासका लागि पालिका तथा प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने उहाँको प्रतिबद्धता छ । क्षेत्रको विकासमा आवश्यक पर्ने बजेट विनियोजन र योजनाहरुको छनोटमा सबैको रायसुझाव लिएर अघि बढ्ने उहाँले बताउनुभयो ।

    रास्वपाको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्र र आम सर्वसाधारणमा आशा पलाएको जनाउँदै अग्रवालले त्यो आशा र विश्वासलाई कहीकतै डगमगाउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सीमा क्षेत्र भएकाले सबै निकाय संवेदनशील भएर काम गर्नुपर्नेमा उहाँको जोड छ । विस्तारै निजी क्षेत्र चलायमान हुँदै गएको उहाँको भनाइ छ । 

    किसानलाई मल र बीउ अभावले सधैं सताइरहने जनाउँदै यसको दीर्घकालीन समाधान गर्न सरकार लागिपरेको उहाँको भनाइ छ । मधेशी महिला तथा विपन्न र गरीब परिवारको उत्थानका लागि आफूले योजना बनाएर कार्यान्वयनका लागि तीन तहका सरकारसँग पहल गर्ने अग्रवालले बताउनुभयो ।

    कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले पूर्वाधार विकाससँगै मलबीउको समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।

    त्यस्तै सांसद अग्रवालले विजयनगर गाउँपालिका र शिवराज नगरपालिकामा पुगेर पार्टीका जिल्ला, क्षेत्र, पालिका र वडाध्यक्षहरुसँग छलफल गर्नुभएको छ । यसक्रममा आगामी प्रदेश सभा र स्थानीय तह निर्वाचन, क्षेत्रगत र पालिका स्तरीय विकासका योजनाबारे छलफल गरिएको थियो । पार्टीलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिदै सांसद अग्रवालले क्षेत्रमा सबै समस्याहरु एकएक गरेर समाधान गर्न आफूले निरन्तर पहल गर्ने बताउनुभयो ।