सोमवार , बैशाख १४, २०८३
काठमाडौं, १४ बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै मुलुक फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको आशंका व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आशंका गर्नुभएको हो ।
जनसंख्याको आधारमा अथवा राजश्वको अनुपातमा केन्द्रबाट क्षेत्रले पाउनुपर्ने बजेट थोरै भएको भन्दै ठाकुरले चिन्ता व्यक्त गर्नुभयो । प्रजातन्त्र आउनुभन्दा पहिले पनि केही मात्रामा स्वतन्त्रताको अनुभूति हुने थलोका रूपमा चिनिने ट्रेड युनियन, स्कुल–कलेजहरू र अदालतको कम्पाउण्डलाई अहिले ब्यान गरिएकोमा उहाँले आपत्ति जनाउनु भयो ।
उहाँले जनताको अधिकार खोसिँदा राष्ट्र नै कमजोर हुने तर्क गर्नुभयो । इतिहास नष्ट गरेर कुनैपनि पुस्ता अगाडि बढ्न नसक्ने उनको जिकिर छ । मधेसको समस्या काठमाडौं आउनु पर्दैन भन्ने प्रधानमन्त्रीको आश्वासनका बावजुद अहिले मधेसमा फेरि आवाज उठ्न थालेको उहाँले बताउनु भयो । प्रधानमन्त्री र मन्त्रीहरू भेट्न समय नपाउने गरी व्यस्त देखिएको तर जनताको समस्या समाधानमा गम्भीर नभएको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘जसले गर्दाखेरि उ सबै क्षेत्रमा चाहे शिक्षा होस्, स्वास्थ्य होस्, विस्तारै पछि पर्दै गएको छ । विकास अगाडि बढ्नुको साटो पछि परेको देखिन्छ । आज ती सबैलाई ब्याण्डक गरिएको छ, खारेज गरिएको छ । के यो देश फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको छ ? निजी क्षेत्रका व्यवसायीको घरमा आगो लगाउने, लुट्ने र विना स्पष्ट कारण गिरफ्तार गर्ने कार्य भइरहेको छ ।
यो सरकारले आफूलाई जेन–जी सरकार भन्छ, वास्तवमा जेन–जी के हो ? के हाम्रो जेनेरेसन खत्तम हो र अहिलेको मात्र सही हो ?’
सांसद विकास कोष (क्षेत्र विकास कार्यक्रम) हटाइएकोमा ध्यानाकर्षण गराउँदै उहाँले ‘मिडियाले सांसदको काम विकास गर्ने होइन भन्ने तर जिल्ला जाँदा जनताले के ल्याउनुभयो भनी सोध्ने गरेको बताउनु भयो । उहाँले बजेट विनियोजनको तरिकामा सुधार हुनुपर्ने र क्षेत्र विकासको बजेट पुनः सुचारु हुनुपर्ने माग गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
