शनिवार , बैशाख १९, २०८३
भैरहवा, १९ वैशाख । लुम्बिनी विश्व शान्ति मञ्चले २५७० औं बुद्ध जयन्तीको अवसरमा वृक्षरोपण कार्यक्रम गरेको छ । त्यस्तै मञ्चले ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा गरेको छ । अभियान अन्तर्गत भैरहवा–लुम्बिनी क्षेत्रमा २ हजार ५ सय ७० वटा विरुवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनुभयो ।
अभियानको घोषणा सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री भैरहवा नमूना माध्यमिक विद्यालयबाट गरिएको छ ।
शुक्रबार विद्यालय परिसरमा १०८ वटा विभिन्न फलफूलका विरुवा रोपिएको गौतमले जानकारी दिनुभयो । बाँकी विरुवा अबको दुई महिनामा रोप्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।
भैरहवाको पुरानो विद्यालय भैरहवा नमुना माविमा लुम्बिनी विश्व शान्ति मञ्चको आयोजना तथा विभिन्न संघ–संस्था र बैंक तथा वित्तीय संस्थाको सहयोगमा कार्यक्रम गरिएको उहाँले बताउनुभयो । सोही अवसरमा विद्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । त्यस्तै शुक्रबार नै लुम्बिनी साँस्कृतिक नगरपालिका–१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालय, खुनगाईमा १ सयवटा विरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । ‘फलफूलका विरुवा रोप्ने गरेका छौं, यस्तो कार्यक्रम गर्न पाउँदा निकै खुसी छौैं, ’उहाँले भन्नुभयो ।
लुम्बिनी विश्व शान्ति मञ्चले मुलुकका विभिन्न स्थानमा गरी १० लाख वटा विरुवा रोप्ने र हुर्काउने अभियानमा रहेको बताउनुभयो । हालसम्म १ लाख ९५ हजार ७ सय विरुवा रोपिसकिएको उहाँले जानकारी दिनुभयो ।
‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले लुम्बिनी विश्व शान्ति मञ्चले विद्यालय प्रांगणमा वृक्षारोपण तथा रक्तदान जस्तो पुनित कार्य गरेको बताउनुभयो ।
भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित कुमार गुप्ताले शान्त वातावरणमा सभ्य रुपमा कार्यक्रम भएको बताउनुभयो ।
गोलिगढ टोल सुधार समिति सिद्धार्थनगर–९ का निवर्तमान अध्यक्ष युवराज पाण्डेले लुम्बिनी विश्व शान्ति मञ्चले वातावरणको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । ‘यहाँहरुले टोल सुधार समितिले गरेको कामको उच्च मूल्यांकन गर्नुभएको छ । यसले हामीलाई काम गर्ने थप उर्जा प्राप्त भएको छ, ’उहाँले भन्नुभयो ।
रिसाईल टु रिभाइभका कोषाध्यक्ष रमेश खड्काले लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा सामाजिक कार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आफ्ना बुवा स्वर्गीय चन्द्र बहादुर खड्काको सम्झनामा भैरहवा नमुना माविमा ५१ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो । विराटनगर निवासी रमेश खड्का हाल अष्टे«लियामा बस्दै आउनुभएको छ ।
कार्यक्रममा गोलिगढ टोल सुधार समितिलाई टोलको सरसफाईमा सहजता प्रदान होस् भन्ने उद्देश्यले लुम्बिनी विश्व शान्ति मञ्चले सरसफाई सामग्री समेत हस्तान्तरण गरेको थियो । त्यस्तै विद्यालयमा वाल पेन्टिङ समेत गरिएको मञ्चका अध्यक्ष बासु गौतमले जानकारी दिनुुभयो । त्यस्तै टुर द लुम्बिनी (साईकलमा लुम्बिनी जाने टोलीलाई) स्वागत समेत गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
