आइतवार , बैशाख २०, २०८३
काठमाडौं, २० बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत कब्जादेखि नीतिगत सेटिङ तोड्न वर्तमान सरकार क्रियाशिल रहेको बताउनुभएको छ ।
उहाँले विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने गरेको बताउनु भयो । उहाँकाअनुसार ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको अपवित्र सम्बन्ध अन्त्य गर्नेगरी सरकार अघि बढिरहेको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले वर्तमान सरकारले नयाँ शुरुवातको संकेत दिन खोजिरहेको बताउनु भयो । वाग्लेले विगतमा गल्तीहरू भएका भए ती गल्तीहरूलाई प्रश्रय नदिन निजी क्षेत्रलाई आह्वान समेत गर्नुभयो । उहाँले अपराधीहरूको बचाउने प्रयास नगर्न चेतावनी दिनुभयो ।
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रका केही आवाजहरूले सरकार कठोर बन्न खोजेको हो कि भन्ने आशंका गरेपनि त्यस्तो नरहेको बताउनु भयो । उहाँकाअनुसार रास्वपा सरकारले ‘फोहोर सफा’ गर्दैछ ।
त्यो फोहोर विवेक पु¥याएर सावधानीपूर्वक गर्न लागिएको उहाँले बताउनु भयो । रास्वपा पार्टी सभापति रवि लामिछानेको भनाइ यो वर्ष खिल निकाल्ने वर्षलाई स्मरण गर्दै वाग्लले यो प्रक्रिया केहीका लागि पीडादायी हुन सक्ने बताउनु भयो ।
नेपालमा ऐन कानूनले गर्दा धेरै दुख पाएको व्यवसायीले बताएको सुनाउँदै उहाँले त्यस्ता ऐन कानूनहरु सुधारको बाटोमा सरकार अघि बढेको बताउनु भयो ।
अर्थमन्त्री वाग्लले भन्नुभयो–‘करिब १० वर्षअघि एक चर्चित व्यवसायीले मलाई भन्नुभएको थियो— “स्वर्णिम जी, नेपालको ऐन–कानून यस्तो छ कि एउटा इमानदार मान्छे छिर्यो भने त्यो कानूनले उसलाई यसरी घुमाइदिन्छ कि निस्कँदा ऊ पनि बेइमान भएरै निस्कन्छ । नेपालको राजनीतिक अर्थतन्त्रको यो चित्रणसँग पूर्ण रूपमा सहमत छु । र, हामीले यो बेथिति सफा गर्ने वाचा गरेका छौँ ।
हामीले इमानदार उद्यमीहरूका लागि वातावरण बनाउने संकल्प गरेका छौँ— जसले स्वच्छ व्यवसाय गर्न चाहन्छन्, कर तिर्छन्, रोजगारी सिर्जना गर्छन् र सरकारी ढुकुटी भर्छन् ताकि हामी शिक्षा, स्वास्थ्य, ग्रामीण पहुँच र गरिबी निवारणमा लगानी गर्न सकौँ। आगामी दिनमा खेलको नियम यही हुनुपर्छ ।
यो ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको यो अपवित्र सम्बन्ध अब अन्त्य हुनुपर्छ । हामी एउटा नयाँ र स्वच्छ सुरुवातको संकेत दिन चाहन्छौँ । अर्थमन्त्रीको कुर्सीमा बसेर मैले यो देशमा भएको दोहन र लुटतन्त्रको रिपोर्टहरू पढ्दा कहिलेकाहीँ म सिरिङ्ग हुन्छु ।
मलाइ तपाईंहरूमध्ये धेरैलाई व्यक्तिगत रूपमा चिन्नुहोला, सँगै सामाजिक उठबस होला, तर नेपालका जनता विरुद्ध गरिएको त्यो स्तरको अपराध र लुट देख्दा म स्तब्ध हुन्छु । यो अब रोकिनुपर्छ ।’
अर्थमन्त्री वाग्लेले निजी क्षेत्र इमानदारिताको जगमा उभिएर फस्टाउनुपर्छ । प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ सुशासनप्रति पूर्ण प्रतिवद्ध रहेको बताँदै उहाँले पछिल्लो चार वर्षमा काठमाडौं महानगरमा बालेनको कार्यकाल सम्झनु भयो ।
वाग्लेले बालेन महानगरमा हुँदा अर्बौँको बजेट परिचालन गर्दा पनि अहिलेसम्म उहाँको नाममा एउटै पनि घोटाला नसुनिएको बताए । वर्तमान सरकारको शासनकालमा यही मानक स्थापित गराउने वाग्लले बताउनु भयो ।
वाग्लेले निजी क्षेत्रमैत्री नीति र लगानीको वातावरणमा वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनु भयो । प्रवासी, विदेशी र स्वदेशी लगानीकर्तालाई आकर्षित गरेर मुलुकमा लगानी बढाइने उहाँको भनाइ छ । अर्थमन्त्री वाग्लेले आगामी बजेटमा निजी क्षेत्रले उदार अर्थतन्त्रतर्फको प्रष्ट मोडल देख्नु पाउने समेत बताउनु भयो ।
उहाँकाअनुसार उक्त मोडलमा लगानीलाई प्रोत्साहन गर्नेछ । निजी सम्पतीको सुरक्षा गर्नेछ । करको भारलाई कम झन्झटिलो बनाउनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
