२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

जिल्ला समन्वय समिति रुपन्देहीको अढाई विगाह जग्गा अतिक्रमणमा, कहिले चल्छ डोजर ?

बिहिवार , बैशाख २४, २०८३

  • 484
    Shares
  • 484
    Shares
  • बुटवल, २४ वैशाख । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा जिल्ला समन्वय समिति रुपन्देहीको स्वामित्वमा रहेको २ विगाह १२ कठ्ठा ९ धुर जग्गा अतिक्रमणमा परेको छ । 

    २०५० साल फागुन ११ गते तत्कालिन जिल्ला बिकास समिति रुपन्देहीको नाममा दर्ता भएको उक्त जग्गा अतिक्रमणमा परेको हो । बुटवल ११ देविनगरमा रहेको उक्त जग्गामा अहिले सरकारी बिद्यालय, मन्दिर, स्वास्थ्य सस्थादेखि ठुला ठुला महल ठड्यिएका छन् । 

    बुटवल उपमहानगरपालिका बडा नम्बर ११ स्थित कित्ता नम्बर १५९ को एक विगाह २ कठ्ठा ४ धुर र कित्ता नम्बर १६० को एक विगाह १० कठ्ठा ५ धुर जग्गा अतिक्रमणमा परेको जिल्ला समन्वय समिति रुपन्देहीले जनाएको छ ।   

    बुटवलको बजार क्षेत्रसँग जोडिएको बहुमूल्य सरकारी जग्गामा पछिल्लो समय अनधिकृत रूपमा घरटहरा निर्माण, घेराबार तथा व्यक्तिगत प्रयोजनका संरचना विस्तार हुँदै गएपनि अहिलेसम्म हटाउने तर्फ सरकारको चाँसो जान सकेको छैन् । तत्कालिन जिल्ला बिकास समिति हुदैं अहिलेको जिल्ला समन्वय समितिले जग्गा शंरक्षण गर्ने बिषयमा पहल गरेपनि अहिलेसम्म मुर्त रुप पाउन सकेको छैन् । 

    संघ सरकारले सरकारी तथा सार्वजनिक जग्गा हडपेर बनेका संरचनामा डोजर चलाउन थालेपछि बुटवलमा अतिक्रमममा परेको जिल्ला समन्वय समितिको अढाई विगाह बढी जग्गाको बिषय चर्चामा आएको हो । तर, उक्त जग्गामा डोजर कहिले चल्ने हो भन्ने बिषय अहिलेसम्म अनिष्चित बनेको छ । 

    लामो समयदेखि निगरानी र संरक्षणको अभाव हुँदा सरकारी सम्पत्ति व्यक्ति र सस्थाको पहुंचमा परिणत भएको स्थानियको आरोप छ । स्थानियका अनुसार सरकारको उदासिनताका र भुमाफियाको रजगजका कारण सरकारी तथा सार्वजनिक जग्गा हडप्ने प्रवृति बढेको छ । 

    स्थानीयवासीका अनुसार सरकारी निकायको बेवास्ताका कारण देवीनगर क्षेत्रको उक्त जग्गामा वर्षौंदेखि विभिन्न व्यक्तिले कब्जा जमाउँदै आएका छन् । 

    जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले अतिक्रमणमा परेको जग्गा खालि गरी शंरक्षण गर्ने बिषयमा बुटवल उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउदै पत्र पठाईएको बताउनु भयो । उहाँले तत्कालिन जिल्ला बिकास समितिले २०७१ साल अगाडि देखि नै अतिक्रमणमा परेको सरकारी जग्गा शंरक्षणका लागि पहल गर्दै आएको र अहिले पनि जिल्ला समन्वय समितिको बैठकले पुनः निर्णय गर्दै शंरक्षणका लागि सरोकारवासंग सहयोग मागेको बताउनु भयो । 

    समितिको बैशाख २२ गतेको बैठकले जग्गा खाली गराउनका लागि बुटवल उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।  

    बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उक्त जगगाको बिषयमा अध्ययन गरिरहेको बताउनु भयो । अहिले पत्र मात्रै प्राप्त भएको छ उहाँले भन्नुभयो यस बिषयमा जग्गा व्यवस्थापन शाखा र नक्सा शाखासंग सबैकुरा बुझेपछि मात्रै थप कुरा बोल्न सकिन्छ । 

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले जिल्ला प्रशाशनले जग्गा खाली गराउनका लागि आबश्यक शुरक्षा प्रबन्ध मिलाउने बताउनु भयो । अतिक्रमणमा परेको सरकारी जग्गा खाली गराउने सन्दर्भमा स्थानिय प्रशासनले आफ्‌नो जिम्मेवारी पुर्ण रुपमा पालना गर्ने बताउनु भयो । 

    देवीनगर क्षेत्रको उक्त जग्गा व्यावसायिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । त्यसैले यसको संरक्षण र व्यवस्थापनमा स्थानीय तह तथा सम्बन्धित सरकारी निकायले तत्काल चासो दिनुपर्ने आवाज उठ्न थालेको छ ।