शुक्रवार , बैशाख २५, २०८३
भैरहवा, २५ वैशाख । मेलमिलापकर्ताहरुलाई घर नक्सा तथा जग्गा विवाद सम्बन्धी प्राविधिक जानकारी विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय, रुपन्देहीको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा भवन तथा नक्सा शाखाका वरिष्ठ इञ्जिनियर नविन डुम्रेले भवन निर्माण गर्दा आवश्यक मापदण्ड, स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेका जिम्मेवारी लगायत विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख तथा न्यायीक समिति संयोजक उमा अधिकारीले आगामी दिनमा नापी तथा मालपोतसँग पनि समन्वय गरेर अन्तरक्रिया गरिने बताउनुभयो । उहाँले मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । ‘आफ्नो कुरा गर्दा अरुको पनि कुरा सुन्नुपर्छ, ’उहाँले भन्नुभयो ।
त्यस्तै नगरपालिकाको प्रशासन महाशाखाका प्रमुख तथा सूचना अधिकारी देव प्रसाद ज्ञवालीले नक्सा बनाउनु र पास गर्नु फरक विषय भएको बताउनुभयो । उहाँले मेलमिलापकर्ताले वास्तविकता केलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मेलमिलापकर्ता राजेन्द्र खड्का, देवी न्यौपाने लगायतले बोल्नुभएको थियो ।
नगरपालिकाको कानून शाखाको सहायक प्रशासकीय अधिकृत साधना पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
