शनिवार , बैशाख २६, २०८३
बुटवल, २६ वैशाख । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा शनिबार (आज) देखि बुटवलमा मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलनको आयोजना हुने भएको छ ।
बुटवल उद्योग वाणिज्य संघको सभाहलमा तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघ–संगठनका अध्यक्षहरु, राष्ट्रियस्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभवप्राप्त व्यक्तित्वहरुको सहभागीता रहने महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिनुभयो ।
सम्मेलनमा विभिन्न ९ वटा विषयमा समूहगत छलफल (प्यानल डिस्कसन) हुने भएको छ । जस अन्तरगत पहिलो दिन ३ वटा र दोस्रो दिन ६ वटा विषयमा समूहगत छलफल गरिने सचिव सी.पी. खनालले जानकारी दिनुभयो । तेस्रो दिन देशभरबाट सहभागी प्रतिनिधिहरुबीच प्रदेशगत रुपमा पत्रकारिताको विगत, वर्तमान र भविष्यबारे चुनौतिसहित अवसर बारेमा छलफल गरी निष्कर्ष निकालिने कार्यतालिका रहेको उहाँले बताउनुभयो ।
सम्मेलनमा रुपन्देहीबाहिरबाट १ सय जना बढी प्रतिनिधिहरु सहभागी हुँदैछन् । त्यस्तै जिल्लामा रहेका पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुसहित ३ सय बढीको सहभागीता रहने अनुमान गरिएको उपाध्यक्ष विश्वास ढकालले बताउनुभयो । विभिन्न जिल्ला तथा सातै प्रदेशका महासंघ प्रतिनिधिहरु, केन्द्रीय पदाधिकारी तथा विभिन्न सञ्चार गृहका प्रतिनिधिहरुबीच छलफल हुने सम्मेलन वैशाख २८ गते बुटवल घोषणापत्र जारी गर्दै समापन हुनेछ ।
सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलको संयोजकत्वमा गठन गरिएको समितिले घोषणापत्र लेखन गर्नेछ ।
सम्मेलनको पहिलो दिन ’कसरी बचाउने स्थानीय मिडिया ?’ भन्ने विषयमा स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुसँग छलफल गरिनेछ । जसको सहजीकरण पत्रकार कपिल ज्ञवालीले गर्नुहुनेछ । त्यसै गरी ‘स्थानीय सरकार के गर्दैछन् के गर्नुपर्छ ?’ भन्ने विषयमा रुपन्देहीका स्थानीय सरकारका प्रतिनिधिहरुसँग छलफल गरिदैछ । पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष पत्रकार अस्मिना पाण्डेले यो छलफलको सहजीकरण गर्नुहुनेछ ।
त्यसै गरी शनिबार नै हुने समूहगत छलफल अन्तरगत ‘कसरी उभो लाग्छ उद्योग व्यवसाय ?’ भन्ने विषयमा रुपन्देहीका निजी क्षेत्र सम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिँदै छ । यो छलफललाई पत्रकार रेखा भुसालले सहजीकरण गर्ने कार्यतालिका छ ।
त्यसै गरी दोस्रो दिन आइतबार ‘लुम्बिनीको पर्यटन : पर्यटक र पैसा कसरी भित्राउने ?’ भन्ने विषयमा छलफल गरिदैछ । उक्त छलफलमा सरकारका प्रतिनिधि, पर्यटनविद्, व्यवसायी तथा स्थानीय सरकारका प्रतिनिधिहरुसँग सहभागी हुँदैछन् । उक्त छलफललाई पत्रकार प्रदीप आचार्यले सहजीकरण गर्नुहुनेछ ।
‘आर्थिक संकटमा मिडिया, अबको बाटो ?’ भन्ने विषयमा राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा लामो समय व्यवस्थापन क्षेत्रमा रहेर काम गरेका प्रतिनिधिहरुसँग छलफल गरिदैछ । उक्त छलफललाई महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश के.सी.ले सहजीकरण गर्नुहुनेछ । त्यसै गरी ’प्रश्नको घेरामा मिडिया, कसरी जिल्ने पाठक दर्शक र श्रोताको मन ?’ भन्ने विषयमा महासंघका पूर्व केन्द्रीय अध्यक्षसहित लामो समय अनुभव प्राप्त सम्पादक तथा सञ्चारकर्मीहरुसँग छलफल गरिदैछ । उक्त छलफललाई पत्रकार अमृता मनमोलले सहजीकरण गर्ने कार्यतालिका छ ।
आइतबार नै हुने ‘परम्परातगत मिडियामाथि डिजिटल प्लेटफर्मको चुनौती’ विषयक समुहगत छलफललाई महासंघ रुपन्देहीका सचिव पत्रकार सी.पी. खनालले सहजीकरण गर्नुहुनेछ । त्यस्तै ’मिडिया नीति कस्तो हुनुपर्छ’ भन्ने विषयमा पत्रकार भवानी पाण्डेले सहजीकरण गर्नुहुनेछ ।
विभिन्न राजनीतिक दल सम्बद्ध पत्रकार संघ–संगठनका केन्द्रीय अध्यक्षहरु सहभागी हुने ‘मिडियाकर्मी : वाचडग कि राजनीतिक खेलाडी ?’ विषयक छलफललाई पत्रकार दिपेन्द्र कुंवरले सहजीकरण गर्नुहुनेछ ।
सम्मेलनको अन्तिम दिन सोमबार बुटवल घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुनेछ । कार्यक्रमको आवश्यक सम्पूर्ण तयारीहरु पूरा भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij