सोमवार , बैशाख २८, २०८३
रुपन्देही, २८ वैशाख । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन सुरु भएको छ । सोही क्रममा आइतबार विभिन्न विषयमा छलफल गरिएको छ ।
प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? विषयमा आयोजित बहस तथा छलफलमा सहभागीहरुले पत्रकारले सधै सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले पछिल्लो समय मिडियाले पस्कने सामग्रीको विश्वसनीयता र जगमाथि प्रश्न उठेको बताउनुभयो । ‘सबै सूचना समाचार होइनन् । ‘अल्गोरिदमले सम्पादक र संवाददाताहरुको मनोवैज्ञानिक शान्ति लुटेको छ,’ उहाँले भन्नुभयो । सस्तो वस्तुले बजारको गुणस्तरीय माग धान्न नसक्ने उहाँले बताउनुभयो । पत्रकारले सधै सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कमीकमजोरी सच्याएर अघि बढ्नपर्ने बताउनुभयो ।
जनआस्थाका सम्पादक किशोर श्रेष्ठले पत्रकारिताको धर्म निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘म सत्य भन्दा बाहिर जाँदैन । जोखिम मोलेको छु । तथ्यले जित्छ । स्रोतलाई भगवान मान्छु । मेरो स्रोत भगवान हुन् ।’ आफ्नो काममा निरन्तर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
समाधान दैनिकका केशवशरण लामिछानेले राम्रो कन्टेन्ट र खोजमूलक समाचार दिए समस्या नआउने बताउनुभयो । अनलाइनमा आएको समाचार हुबहु पत्रिकामा प्रकाशन गरेर कसले पढ्ने ? भन्दै उहाँले प्रश्न गर्नुभयो । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न पाउने निर्णयले निजी सञ्चारमाध्यम विशेष गरी पत्रिका संकटमा परेको भन्ने कुरा आएका उहाँको भनाइ छ । पाठकलाई आकर्षित गर्ने खालको कन्टेन्ट दिन सकेनौं कि ? भन्ने पनि प्रश्न उठेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पत्रकार भरत के.सी., सुदीप भण्डारी, माया गौतम, तिलक सुवेदी, अर्जुन ज्ञवाली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार अमृता अनमोलले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
