२०८३, जेठ ११ गते

May 25 2026 | २०८३, जेठ ११ गते

तातो हावाको लहरबाट बच्नका लागि सतर्कता अपनाउन आग्रह

सोमवार , जेठ ११, २०८३

  • 286
    Shares
  • 286
    Shares
  • भैरहवा, ११ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले तातो हावा (लु) बाट बच्नका लागि सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले स्वास्थ्यको विशेष ख्याल राख्न आग्रह गर्नुभएको हो ।

    सिद्धार्थनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजनामा सोमबारदेखि भैरहवामा सुरु भएको नेपाल हीटवेभ : एस.ई.ए.पी. अन्तर्गत आपतकालीन अवस्थामा लैंगिक हिंसा, नगद तथा भौचर सहायता र तापक्रम पूर्वानुमान सन्देश प्रसारण सम्बन्धी तालिम कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    तातो हावाको लहरबाट बच्न चर्को घाम लागेको बेला घरभित्रै बस्न, अत्यावश्यक कामले बाहिर निस्कनै परे पातलो कपडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन पिउन उहाँले आग्रह गर्नुभयो । ‘हाम्रै छिमेकी मुलुक भारतमा अत्याधिक गर्मी र तातो हावाको लहरबाट मानिसको ज्यान समेत गएको जानकारी पाएका छौं, त्यसैले यो समयमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ,’ नगरप्रमुख खाँले भन्नुभयो । तालिममा सकेपछि समाजमा पुगेर सचेतना फैलाउन समेत उहाँले सहभागीहरुलाई आग्रह गर्नुभयो ।

    त्यस्तै नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले विगतमा पनि पनि यस्ता कार्यक्रम गरिएको बताउनुभयो । ‘रेडक्रसको टीमले पहिला विपद् हुँदा फिल्डमा जान्थ्यो भने अहिले घटना हुनुपूर्वतयारी गरिरहेको छ । सचेतनामा जोड दिएको छ, ’उहाँले भन्नुभयो । तातो हावाको प्रभाव न्यूनीकरण गर्न यो कार्यक्रम उपलब्धीमूलक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    रेडक्रस सोसाइटी रुपन्देहीको विपद् व्यवस्थापन समितिका फोकलपर्सन महेन्द्र कुमार श्रेष्ठले यो कार्यक्रमलाई सिद्धार्थनगर नगरपालिकाले महत्व दिनु सराहनीय रहेको बताउनुभयो । उहाँले तातो हावाको लहरबाट विशेष गरी बालबालिका, दीर्घरोगी, मजदूर, पैदलयात्री बढी प्रभावित हुने भएकाले सचेतना जरुरी रहेको बताउनुभयो ।

    रेडक्रस रुपन्देहीका कोषाध्यक्ष अर्जुनराज उपाध्यायले सिद्धार्थनगर नगरपालिकाले तातो हावाको लहरको बारेमा चासो देखाएको बताउनुभयो । उहाँले ‘लु’को प्रभावलाई न्यूनीकरण गर्न सचेतना अभियान जरुरी रहेकोमा जोड दिनुभयो ।
    रेडक्रस रुपन्देहीको नेपाल हिटवेभ एस.ई.ए.पी. कार्यक्रम फोकल पर्सन सुरक्षा भट्टराईको सञ्चालनमा सम्पन्न

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, नगरपालिकाको विपद् व्यवस्थापन समितिका फोकलपर्सन खेमराज गैरे लगायतले बोल्नुभएको थियो ।

    lll.jpg

    तालिममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जल तथा मौसम पूर्वानुमान विभागको मन्जु वासी, नमुना एकीकृत विकास परिषद्, रुपन्देहीको अध्यक्ष सीता भट्टराई, सिद्धार्थनगर नगरपालिकाका खेमराज गैरे, रेडक्रस रुपन्देहीको सुरक्षा भट्टराई र रेडक्रसका जिल्ला कार्यक्रम अधिकृत कृष्ण मल्लले सहजीकरण गर्नुहुनेछ ।