
बुधवार , भाद्र ३, २०७७
भैरहवा, ३ भदौ ।
आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदैछ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ ।
यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुसार यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुची अनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।
बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ । तर यस वर्ष कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।
भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन् ।
शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउँछन् ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij