२०८३, जेठ १४ गते

May 28 2026 | २०८३, जेठ १४ गते

पौडी खेल्ने क्रममा डुबेर र रोलरले च्यापिँदा तीन बालकको मृत्यु

बुधवार , जेठ १३, २०८३

  • 772
    Shares
  • 772
    Shares
  • भैरहवा, १३ जेठ । मंगलबार खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थी र क्रिकेट रंगशालाभित्र रोलरले च्यापिँदा एक नाबालकको मृत्यु भएको छ । मृतकमध्ये एकजना १४ महिने बालक र दुईजना कक्षा ८ मा अध्ययनरत विद्यार्थी छन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ खजुरिया स्थायी घर भइ हाल सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी बस्दै आएका १३ वर्षीय प्रिन्स चौधरी र सम्मरीमाई गाउँपालिका–६ असुरैना स्थायी घर भइ हाल सिद्धार्थनगर–४ सुगरमिलमा डेरा गरी बस्दै आएका १६ वर्षीय सुरज गुप्ता छन् ।

    उनीहरू साथी रहेको प्रहरीले जनाएको छ । गुप्ता भैरहवास्थित साई ग्लोबल माध्यमिक विद्यालय र चौधरी रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए ।

    प्रहरीका अनुसार विद्यार्थीहरु डुबेको जानकारी प्राप्त हुनासाथ उद्वारका लागि प्रहरी टोली घटनास्थल पुगे पनि दुवैजनाको मृत्यु भइसकेको थियो । प्रहरीले डुबेकै अवस्थामा उनीहरूको शव बाहिर निकालेको जनाएको छ । भीम अस्पताल भैरहवामा पोस्टमार्टमपछि एकजनाको शव हिजै मंगलबार र अर्का एकजनाको शव आज बुधबार परिवारले बुझेका छन् ।

    त्यसै गरी सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालाभित्र मिनी रोलरले च्यापिँदा १४ महिने आयुष बुढाको मृत्यु भएको छ । जुम्लाको पातारासी गाउँपालिका–७ घर भइ हाल रुपन्देहीमा बस्दै आएका नमु बुढाका छोरा आयुष सोमबार साँझ रंगशालाभित्र दुर्घटनामा परेका थिए ।

    प्रहरीका अनुसार रंगशालामा मजदूरी गर्दै आएका नमु बुढाका ४ वर्षीय छोरा आशिष बुढाले खेल्ने क्रममा रोलरको ह्याण्डिल चलाउँदा चापी खुला अवस्थामा रहेको मिनी रोलर अचानक गुडेको थियो । त्यसक्रममा १४ महिने आयुष रोलरले च्यापिएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भीम अस्पतालमा मृत्यु भएको हो ।

    रोलरको चापी लापरवाहीपूर्ण रूपमा खुला छाडेको आरोपमा रोलर चालक सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ६५ वर्षीय जंगबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिनेश कुँवरले जानकारी दिनुभयो ।