२०८३, जेठ १४ गते

May 28 2026 | २०८३, जेठ १४ गते

विपी राजमार्ग पुनर्निर्माणको काम अघि बढ्यो

बिहिवार , जेठ १४, २०८३

  • 544
    Shares
  • 544
    Shares
  • काठमाडौँ, १४ जेठ । आठ महिनाअघि बाढीले ध्वस्त पारेको बिपी राजमार्ग पुनर्निर्माणको काम तिब्र गतिमा अघि बढेको छ । 

    पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल, नेपालका लागि जापानका राजदूत माएदा तोरुलगायतले दुई दिन अघि शिलन्यास गरेको सडक पुर्ननिर्माणको कामले गति लिएको हो । उक्त राजमार्ग  पुनर्निर्माणको काम जापानको सहयोगमा चलिरहेको छ । गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको ३० किलोमिटर सडकखण्डमा क्षति पु¥याएको थियो ।

    जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा राजमार्गलाई स्तरोन्नतिसहित पुनर्निर्माण अघि बढाइएको छ ।

    जापानको सहयोगमा पिप्ले–बर्खेखोला खण्डको ३.२ किमी सडक जापान सरकारको २ अर्ब ८० करोड येन अनुदानमा सिमिजु कर्पोरेसनले निर्माण गर्ने सहमति भइसकेको छ भने नेपाल सरकारको लगानीमा अन्य तीनवटा खण्डका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिइसकेको छ ।

    यस अन्तर्गत काभ्रेतर्फका तीन खण्ड र सिन्धुलीको एक खण्डमा ठेक्का लागेर धमाधम काम भइरहेको छ । पुनर्निर्माणसँगै अब यो राजमार्ग दुई लेनको हुनेछ । सडकका ५ वटा पुललाई पनि दुई लेनमा परिणत गरिनेछ । बाढीबाट पुनः क्षति नहोस् भन्नका लागि ‘आरसिसी’ पर्खाल, प्लम्प पर्खाल र सडक चौडा गर्ने कामलाई तिब्रता दिइएको छ ।

    आगामी वर्षभित्र कालोपत्रसहितको काम सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाले विपी राजमार्गलाई पहिलेभन्दा अझ सुरक्षित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । वि.सं. २०५३ देखि जापानकै सहयोगमा निर्माण शुरु भएको यो राजमार्ग २०७२ मा नेपाललाई हस्तान्तरण गरिएको थियो । 

    पुनर्निर्माण भइरहेको राजमार्गको पूर्वाधार विकास सचिव सिग्देलले अनुगमन समेत गर्नुभएको छ । उहाँले  अनुगमनका क्रममा निर्माणको काम समयमै सक्न निर्माण व्यवसायीहरुलाई निर्देशन दिनुभयो ।